एमाले फुट्नुको आक्रोश संसदमा

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिनु र पार्टी फुट्नुको आक्रोश संसदमा पोखेको छ । प्रतिनिधि सभाको बुधवारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।पहिलो बैठकमा नाराबाजी गरेर अवरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे । त्यसपछि बसेको दोस्रो र तेस्रो बैठक पनि अवरुद्ध भयो र संसद बैठक अघि बढ्न सकेन् । बैठक भदौ २५ मा बस्ने गरी स्थगित भएको छ ।खास गरी एमालेले माधव कुमार नेपालसहितका १४ जना सांसदलाई प्रतिनिधि सभाको सांसद पदबाट नहटाएको भन्दै सभामुख सापकोटासँग आक्रोश पोखे । सभामुखविरुद्ध नाराबाजी गरे । माधवकुमार नेपालले नेकपा एककिृत समाजवादी गठन गरेर एमालेबाट अलग्गि सकेको अवस्थामा संसद अवरोधको कुनै औचित्य नभएको कानूनका जानकारहरु बताउँछन् ।

एमालेले सभामुख सापकोटालाई एमाले विभाजन गर्न सहयोग गरेको समेत आरोप लगायो । देश कोरोना महामारी, बाढी पहिरो र डुबानका समस्याबाट गुज्रिरहेको अवस्थामा ती जनचासोका मुद्दा छोडेर संसद अवरोध गर्नु गलत भएको एमाले नेताहरुकै भनाइ छ । किनकि संसद जनताका समस्या उठाउने थलो हो । आफ्ना माग राख्दा कमसेकम जनताको समस्यामा पनि एमालेले ध्यान दिनु पर्ने हो ।एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदलाई आ–आफ्नो सिटमा बस्न आग्रह गरे तर उनीहरुले मानेन् । एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन विषयमा कुरा उठाउन पाइदैन् । तर एमालेले त्यसको ख्यालै गरेन ।

सभामुख सापकोटाले आफूलाई एमाले विभाजन गर्न भूमिका खेलेको आरोप लगाएपछि उनले आक्रोशित हुँदै एमाले सांसदहरुलाई संविधान र कानून भन्दा बाहिर नजान सजग गराइरहे । तर सापकोटाको भनाइलाई वेवास्ता गर्दै एमाले सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहे । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले सरकारबाट बाहिरिनु पर्ने र फुट्नु पर्ने अवस्थामा पुगेको आरोप लाग्ने गरेको छ ।