गृहको विज्ञप्तिविरुद्धको रिटमा २७ गते पेसी

प्रकाशित मिति:

काठमाडौं । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध सर्वोच्चमा परेको रिटमा भदौ २७ गते पेसी तोकिएको छ ।मन्त्रालयले गत शुक्रबार एमसीसी परियोजनालाई इंगित गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तीनको सम्पत्तिलाई लक्षित गरी नकारात्मक टिका टिप्पणी गर्नेलाई कडा कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

उक्त विज्ञप्तिले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता हनन् भएको भन्दै अधिवक्ता प्रवेश केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सोही रिटको पेशी २७ गतेलाई तोकिएको हो।त्यसैगरी साउन १५ मा दार्चुलाका जयसिंह धामी पारी जानेक्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा चुडाइदिएपछि उनी कर्णाली नदीमा खसेर बेपत्ता भएका थिए । त्यसबारे सरकारले छानबिन समिति बनाएको थियो । समितिले प्रतिवेदन पनि बुझाएको छ ।

केहि दिन अघि बिभिन्न संघ संगठनले घटनाको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए । त्यसमा पनि गृहले छिमेकी मित्रराष्ट्र ‘भारतका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि गर्नेलाई कारवाहीको चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । गृहको विज्ञप्तिको सर्वत्र विरोध भएको थियो ।