साउदीमा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्नु

प्रकाशित मिति:

काठमाडौं \ साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ। रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ।

करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीना अगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ। दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानून बमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ। बर्हिगमन वा पुनःसाउदीमै काम गर्ने प्रवेशाज्ञाका लागि आवश्यक प्रकृया र विकल्पमा जाने विषयमा सुझाव र सहजीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ।

नेपाली कामदारमाथि पर्नसक्ने समस्याका बारेमा जानकारी दिन साउदीका विभिन्न स्थानमा नेपाली श्रमिकलाई भेला गराई अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दूतावासको भनाइ छ। श्रमिकलार्इ साउदीबारे सम्पूर्ण जानकारी नहुँदा र अनावश्यक आश्वासनका आधारमा रोजगारीमा जाँदा समस्या सिर्जना हुने गरेको छ। दूतावासले नेपालबाट साउदी आउँदा अभिमुखीकरण तालीम लिर्इ, कम्पनीको अवस्था र रोजगारदातासँग भएको सम्झौतापत्रको अध्ययन गरेरमात्र रोजगारीमा आउन अनुरोध गरेको छ। दूतावासले नेपाली श्रमिकमाथि कुनै समस्या आइपरे रोजगारदाता कम्पनी, साउदी सरकारको आधिकारिक निकाय, श्रम कार्यालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने गरेको छ। हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन्। ती श्रमिक विभिन्न स्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन्। हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ। रासस