एमसीसीका विषयमा सरकार अनिर्णीत

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।सो विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिनानिष्कर्ष टुंगियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली बिहीबार नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले शुक्रबार (आज) भेट वार्ता गर्दै छ ।

प्रधानमन्त्री देउवाले सोही कारण एमसीसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाएका थिए । तर, बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि कुनै निष्कर्ष आउन सकेन ।बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । ‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा छलफल भयो । यी विषयमा भने गठबन्धनमा रहेका दलका साझा धारणा बनाउने विषयमा छलफल भयो,’ गृहमन्त्री खाँणले बैठकपछि राजधानीसँग भने ।बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ हुँदा सरकारको आलोचना बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छिटो निर्णय दिन आग्रह गरेका थिए ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीसहितका समग्र राजनीतिक विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजे पुनः बैठक बोलाइएको जानकारी दिइन् ।बैठकमा समाजवादी पार्टीका सांसदविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेकाले ती सांसद्लाई मन्त्री बनाउँदा ‘के असर पर्छ रु’ भनेर प्रधानमन्त्री देउवा र नेताहरूले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई सोधेका थिए ।२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ३ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । तर, अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले आफू प्रधानमन्त्री हुँदाकै दिन नेपाली कांग्रेसबाट दुई र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए । त्यसपछि कांग्रेसबाट एक राज्यमन्त्री थपे पनि अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललगायत सहभागी थिए । जसपा अध्यक्ष यादव भने पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

यसैगरी, गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसकी प्रतिनिधि सभामा सचेतक पुष्पा भुसाल र महान्यायाधिवक्ता खाती पनि बैठकमा सहभागी थिए ।बालुवाटार बैठकमा जानुअघि दाहाल, नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनमा छलफल भएको थियो । एमसीसीका विषयमा अमेरिकाबाट आएको प्रतिनिधिमण्डलको टोलीले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भने बिहीबार नै भेटिसकेको छ ।