नेमकिपाद्धारा एम.सि.सि बिरुद्ध भैरहवामा कोण सभा घोषणा

प्रकाशित मिति:

२६ भदौ,भैरहवा-नेपाल मजदुर किसान पार्टी रुपन्देही जिल्ला समितिले शुक्रबार भैरहवाको बुद्धचोकमा एमसीसी सम्झौता विरुद्ध विरोधसभा सम्पन्न गरेको छ ।
विरोधसभामा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले अमेरिकी आर्थिक सहयोगबिना नेपालमा बत्ती बाल्नै नसक्ने र बाटो बनाउनै नसक्ने भनी याचना गरिएको एमसीसी सम्झौताले स्वाभिमानी नेपालीको शीर निहुराएको छ भन्नुभयो ।

एमसीसी सम्झौताका प्रत्येक दफा र शब्दले नेपालको सार्वभौमसत्ता र स्वाधिनतामाथि आँच पु¥याएकोले उक्त सम्झौता परिमार्जन होइन, खारेज नै गर्नुपर्ने जिकिर गर्दै अध्यक्ष वासीले दलाल शासक दलहरुविरुद्ध देशभक्त नेपाली जनता आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो ।विरोधसभामा साहित्यकार विजयसागरले एमसीसी सम्झौता दासताको अर्को नमुना भएको प्रष्ट पार्नुभयो । नेपाल र अमेरिकाबीच सम्झौता गर्न पनि भारतको समर्थन चाहिने शर्त राखेर नेपाललाई उपनिवेश बनाउन लागेको चर्चा गर्दै साहित्यकार विजयसागरले बुद्धको जन्मभुमि लुम्बिनीबाट नेपालीलाई दास बनाउने एमसीसी सम्झौता खारेज गर्न शासक दलहरुका नेताहरुलाई बुद्धि पलाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल क्रान्तिकारी युवा संघ रुपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले नेपालको संविधान र कानुनभन्दा माथि हुने गरी पारित गर्न लागेको एमसीसी सम्झौता स्वीकार्य छैन भन्नुभयो ।