तिलोत्तमामा आर्थिक सुशासनका लागि नेतृत्व परियोजना सञ्चालन

प्रकाशित मिति:

तिलोत्तमा, २६ भदौ । नेपाल लिडरसिप एकेडेमी र तिलोत्तमा नगरपालिकाको सहकार्यमा आर्थिक सुशासनका लागि नेतृत्व परियोजना सञ्चालन गर्ने भएको छ । आर्थिक समृद्धि, सुशासन र नेतृत्वमा अभ्यासमा आधारित नवप्रवर्तनको सोचले सञ्चालन गर्न लागेको परियोजनाले जनप्रतिनिधि, कर्मचारीतन्त्र र सरकोकारवालाहरुको एकाकार सोच, सामूहिक सिकाई र परिणाममुखी पहल मोडयूलहरुको अभ्यास गरिनेछ ।

नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले अभिमुखिकरण गर्नुभएको कार्यक्रममा परियोजना कार्यान्वयनार्थ तिलोत्तमा नगरपालिकाकाका प्रमुख बासुदेव घिमिरेको संयोजकत्वमा १५ सदस्यीय निर्देशक समिति गठनभएको छ । जसमा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, विषयगत समितिहरुबाट दिवाकर ढकाल, राधा शाही, दधिराम गौतम, सुखदेव न्यौपाने, नगर प्रवक्ता सुरेन्द्र श्री, वाणिज्य र वित्तीय क्षेत्रबाट गुणानीधि भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, देवराज ज्ञवाली, सदस्यसचिवमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, सहसदस्य सचिव कमल थापा, प्राज्ञिक र विकास क्षेत्रकातर्फबाट युवराज न्यौपाने र विष्णु प्रसाद ढकाल तथा आमन्त्रित योगदानकर्तामा माधव पोखरेल रहेका छन् ।

समितिको मार्गदर्शनमा पालिकाले यूवा रोजगारीको क्षेत्रमा दीगो रोजगारी श्रृजनाका नविन प्रयोगसहितको १ सय दिने दु्रत परिणाम पहल अभियान सञ्चालन पनिगरिने निर्णय समेत गरेको छ । नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा प्रवक्ता सुरेन्द्र श्रीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले गरेका थिए ।