गालीगलौज सहन नसकेपछि परिवारकै हत्या !

प्रकाशित मिति:

संखुवासभा । जिल्लाको मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् । पक्राउ परेका कार्की नातामा भतिजा हुन् । उनलाई आइतबार सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद गरेको थियो ।घर नजिकैबाट हथौडा र कपडा भेटिएपछि प्रहरीले लोकबहादुरसँग बयान लिन सुरु गरेको थियो । बयानमा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घरायसी दुश्मनीका कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ । मृतक तेजबहादुरले आफूलाई गालीगलौज गर्ने गरेकाले सहन नसकी हत्या गरेको लोकबहादुरले बयान दिएका छन् ।घटनामा तेजबहादुर, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।