नेपालको संसदले एमसिसी सम्झौतालाई जति सक्दो चाँडो निकास दिनुपर्छ : उपाध्यक्ष सुमार

प्रकाशित मिति:

काठमाडौँ, भदौ २७ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्नेमा जोड दिएकी छन्।आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सरकारकै आग्रहमा नेपालसँग एमसिसी सम्झौता भएको र नेपालमा अनुमोदन नभएसम्म सम्झौता कार्यान्वयनमा जान नसक्ने स्पष्ट पारिन्।

गत बिहीबार नेपाल आएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भेटेकी थिइन्। उनले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई तथा मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाललगायतसँग भेटवार्ता गरेकी थिइन्।उनले जतिसक्दो छिटो सम्झौता अनुमोदन हुने त्यत्ति नै छिटो नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्ने उल्लेख गरिन्। नेपालको संसदमा दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको उनले बताएकी छन्।

एमसिसी सम्झौता भएपछि अहिलेसम्म नेपालमा आठवटा सरकार बनिसकेको र ती सबै सरकारले सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ थियो।यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गर्दै उपाध्यक्ष सुमारले यो नेपालको आर्थिक हितसँग जोडिएको विषय भएको बताइन्।