पत्रकार ज्ञवालीको हिमाल पारीको कथा विमोचन

प्रकाशित मिति:

तिलोत्तमा, २ असोज । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीद्वारा लिखित चीन भ्रमणको कथावस्तु समेटिएको हिमाल पारीको कथा पुस्तकको शनिबार विमोचन गरिएको छ । संविधानसभा सदस्य नेत्र पन्थीले पुस्तकको विमोचन गरेका हुन् । लेखन र पठन संस्कृति हराउँदै गएको सन्दर्भमा प्रकाशित पुस्तकले कम्तीमा पनि पठन संस्कृति विकास गर्न योगदान पु¥याउने विमोचन कार्यक्रममा बोल्ने साहित्यकारहरुले बताएका छन् ।

पुस्तकको विमोचन गर्दै संविधानसभा सदस्य पन्थीले चीनको जीवन र संस्कृतिको अध्ययन गर्न सजिलो भएको बताउँदै प्रकाशित पुस्तकले चीनको विकासबाट नेपालले पाठ सिक्न सक्ने कुरालाई मार्गनिर्देश गरेको बताए । उनले चीनको संस्कृति, सभ्यता र अहिले भैरहेको विकासका विषयमा जानकारी लिन पुस्तकले सहयोग पुग्ने धारणा राख्दै कम्तीमा चीन जान नपाएकाहरुलाई पुस्तकले चीनको विषयमा बुझ्न सजिलो वनाएको धारणा राखे ।

पुस्तकको समीक्षा गर्दै लेखक तथा साहित्यकार गिरि श्रीस मगरले चीनका वर्तमान सूचना र जानकारी दिन पुस्तक सहयोगी भएको बताउँदै चीनले गरेको विकास प्रगति नेपाल जस्तो मुलुकका लागि अनुकरणीय रहेको बताए । त्यस्तै पुस्तकको समीक्षा गर्दै अर्का साहित्यकार रामचन्द्र श्रेष्ठले चीनको इतिहासदेखि वर्तमान सम्मको अवस्थालाई नियाल्दा प्रकाशित पुस्तकले थोरै भएपनि चीनलाई बुझ्न सहयोग पुग्ने धारणा राखे ।

वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले हिमाल पारीको कथा साहित्यको महत्वपूर्ण अंग भएको बताउँदै यात्रासंगै आउने रोचकताले पाठकलाई उर्जा थप्ने विश्वास व्यक्त गरे । उनले यात्रा संस्मरणबाट राम्रा कुरा सिक्ने अवसर प्राप्त हुने र त्यो पुस्तकका रुपमा आउँदा त्यसले अरुलाई पनि राम्रा कुरा अनुसरण गर्न सहयोग गर्ने हुँदा यस्ता पुस्तक प्रकाशनमा प्रेरणा दिनुपर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष एवं साहित्यकार झपेन्द्र जिसीले चीन मानव सभ्यताको केन्द्र हो भन्दै त्यहाँ इतिहासदेखि वर्तमानमा भइरहेका विकास क्रमका अध्ययन पुस्तकको आकारमा आउँदा चिनियाँ जीवन र जगत बुझ्न सजिलो भएको बताए ।