सबै तहमा सीमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्व गराउन कांग्रेसको निर्देशन

प्रकाशित मिति:

काठमाडौं, असोज ८ स् कांग्रेसले सबै तहमा दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक र अपांगता भएका सदस्य र प्रतिनिधिको व्यवस्था अनिवार्य कार्यान्वयन गराउने निर्णय गरेको छ ।शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले सबै तहका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा दलित, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक र अपांगता भएका व्यक्तिहरूमध्येबाट निर्वाचित हुने व्यवस्था मिलाउन पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिएको हो ।

कांग्रेस केन्द्रीय कार्य समितिको ३० साउन ०७८ को बैठकले सीमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्व गराउने निर्णय गरेको थियो । उक्त समूदायको प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासहितको निर्वाचन निर्देशिका र केन्द्रीय समिति बैठकमा प्राप्त सुझावलाई समेत ध्यानमा राखी अहिले सम्पन्न भएका र हुन बाँकी तहगत अधिवेशनमा प्रतिनिधित्व नभएको भएमा पनि अनिवार्य प्रतिनिधित्व गराउन पदाधिकारी बैठकले निर्देशन दिएको छ ।जसअनुसार पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा हालको व्यवस्थाअनुसार प्रतिनिधित्व नभएको भएमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।