एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

प्रकाशित मिति:

काठमाडौ– गैरआवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षको रूपमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् ।

थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुन । उनले आफ्नो उमेद्धवारीको घोषणा गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको बताइन । एनआरएनएमा रहेको अर्को महत्वपूर्ण एजेन्डा भनेको नागरिकता हो ।” उनले भनिन “अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु ।”

यसै गरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन ।लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो ।” उनले पत्रकार सम्मेलनमा भनिन् । दोहोरो करका सम्बन्धमा पनि गैरआवासिय नेपालीले करमा छुट पाउनु पर्छ भन्ने उनको चुनावी नारा रहेको छ । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन् । ‘सङ्घमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे,’थापाले भनिन्,‘अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछु’ ।

उनले पहिलो पटक सङ्घको अध्यक्ष महिलालाई निर्वाचित गराउन अपिल समेत गरिन् ।उनी सहित उनको समूहमा रहेका अधिकारी र गुरुङले वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने बताए । विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ ।