‘राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्छ; वामदेव

प्रकाशित मिति:

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो । नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने रातोपाटीको प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए ।

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ । उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि । स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले रातोपाटीसँग भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो । विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ । मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन ।’