शिवराज अटोरिक्सा समिति प्रा.लि.मा नयाँ नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा संचालित अटोरिक्सा व्यवसायीहरुको संगठन शिवराज अटोरिक्सा समिति प्रा.लि.मा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको शिवराज ५, चन्द्रौटामा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले पूर्ण गिरी अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।अधिवेशनबाट उपाध्यक्षमा वेदप्रसाद पाण्डे, सचिवमा पुष्पमणी घिमिरे, सह–सचिवमा बोमप्रसाद आचार्य, कोषाध्यक्षमा कमलप्रसाद पौडेल र वरिष्ठ सदस्यमा सागरप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा सनिउल्ला चुडियार, शंकर खड्का र तेजप्रसाद बस्याल चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

अधिवेशनले बरिष्ठ सल्लाहकारमा चिन्तामणी विष्ट र सल्लाहकारमा नरमान अदैलाई चयन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले अटोरिक्सा व्यवसायले धेरै युवाहरुलाई स्वरोजगार दिएको बताउनुभयो । शिवराज नगरपालिकाभित्र चक्रपथ निर्माण भइरहेको अवगत गराउँदै अब राजमार्ग मात्रै प्रयोग गर्नुपर्ने बाध्यता केही समयपछि टर्ने उपप्रमुख चौधरीले बताउनुभयो । नगरभित्रका भित्री सडकहरु केही कालोपत्रे भइसकेको र केही कालोपत्रे हुने क्रममा रहेकाले सबै अटोरिक्सा चालकहरुले अब सकेसम्म राजमार्ग प्रयोग नगरी भित्री मार्ग प्रयोगमा ल्याउन समेत चौधरीले अनुरोध गर्नुभयो ।कार्यक्रमको अवसरमा आस्थायी ट्राफिक पोष्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालले अटोरिक्सा चालकले आवश्यक सम्पूर्ण कागजात बोक्नुपर्ने, तोकिएको क्षमताभन्दा धेरै यात्रु बोक्न नहुने र ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।