पालिका अध्यक्ष बनेर विकटताको पहिचान बदल्ने सपना देखेकी छु : सीता केसी

प्रकाशित मिति:

सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका प्रक्रियाहरु कर्णालीका आठ जिल्लामा सञ्चालन भइरहेका छन् । आज सल्यान जिल्लामा काँग्रेसको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।अधिकांश युवाहरुले पछिल्लो समयमा नेपाली काँग्रेसको नेतृत्वमा दाबी गरिरहेका छन् । कर्णालीमा युवाहरु विजेता बन्ने क्रम जारी छ ।सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका पार्टी सभापतिमा सीता केसी निर्वाचित भएकी छिन् । सल्यान जिल्लाको इतिहासमै कार्यकारी भूमिकामा महिला निर्वाचित भएको यो पहिलोपटक हो ।

प्रत्यक्ष निर्वाचनमा महिलाहरु कार्यकारी भूमिकामा खासै प्रतिस्पर्धा गर्न नसक्ने भनेर भनिदै आएको कर्णालीमा सीताले महिला पनि कम छैनन भन्ने कुरा पुष्टि गरेकी छिन् ।उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी टेकबहादुर विष्टलाई २१ मतले पराजित गरेकी छिन् । केसीले ६२ मत ल्याउँदा विष्टले ४२ मत ल्याएका थिए । उनको अगामी योजना, महाधिवेनसँग सम्वन्धित विषयवस्तुमा रहेर नेपालप्रेसले छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी सीतासँग नेपालप्रेसले गरेको कुराकानीको सारसंक्षेपको सम्पादित अंशः

म आज विजेता भएकी छु । यो जित महिलाको जीतको रुपमा म लिन चाहन्छु । पार्टीको कार्यकारी भूमिकामा महिलाले पनि राम्रो काम गर्न सक्छन भनेर देखाउने अवसर मैले पाएकी छु । मलाई सहयोग गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।मलाई पार्टीले स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षमा उम्मेदवारी दिन लगाएको थियो । म विजय बनें । अहिले पार्टीले विश्वास गरे सभापतिको रुपमा जिम्मेवारी प्रदान गरेको छ । म खुशी छु, मलाई म कृतज्ञता ज्ञापन गर्दछु ।

मैले सहमतिमा उम्मेदवार चयन गरौं भनेको थिएँ । उहाँहरुले मान्नु भएन तरपनि मत मैले बढि ल्याएर विजयी भएँ । विष्ट भाईलाई मैले राम्रोसँग बिदा गरें । लोकतान्त्रिक परिपाटीमा हामी एकै स्थानमा छौं । निर्वाचमा गइसकेपछि हार र जित हुन स्वभाविक हो । हामी दुइ बीचमा हार र जीत भएपनि छत्रेश्वरीका जनताको हार नहोस भन्नेमा हामी दुवै सचेत छौं ।म आफू विजेता भएपनि पराजित भएका साथीहरुलाई मिलाएरै लैजाने प्रतिबद्धता तपाईंको अनलाईनमार्फत गर्न चाहन्छु । पराजित भएका साथीहरुलाई खुशी बनाएर लैजान्छु । भोली पार्टीमा आउने जिम्मेवारी दिँदा यो गुट वा त्यो गुटको नाउँमा विभेद गर्दिन । क्षमतावान कार्यकर्तालाई मैले न्याय दिनेछु । उहाँहरु रामचन्द्र पौडेल प्यानलबाट चुनाव लडनुभएको हो म देउवा प्यानलबाट लडेको हुँ ।

छत्रेश्वरीमा महिलाका धेरै समस्या छन् । महिला बेरोजगार छन्, पछि पारिएका छन् । उनीहरुलाई माथि ल्याउन चाहन्छु । पार्टी राजनीतिमा पनि महिलालाई सकेसम्म माथि ल्याउने प्रयास मैले गर्नेछु । आगामी स्थानीय तहको निर्वाचनमा कोही महिला वडा अध्यक्ष बन्न चाहे भने मेरो पुरा सहयोग रहनेछ । सल्यानको दश पालिकामा महिला सभापति म नै विजय भएको हो । यसमा महिला दिदीवहिनीहरुको विजय भएको हो ।पालिका सभापति हुँदै गर्दा मेरो मनमा छत्रेश्वरीलाई थप विकास गर्ने कुरा खेलिरहेको छ । पार्टीले अवसर दिएको खण्डमा आगामी निर्वाचनमा पालिका अध्यक्षमा मेरो उम्मेदवारी रहनेछ । म यस क्षेत्रमा विकास गर्न चाहन्छु । विकट पालिकाको पहिचानलाई मेटन चाहन्छु । यो पाँचवर्षमा हामीले पालिकामा धेरै काम गरेका पनि छों तर अझै गर्न धेरै बाँकी छ । विकास निर्माण, खानेपानी, विद्युत, अधुरा कामहरु अझै पनि छन् । ती सबै काम पुरा गर्नको लागि एक पटक अध्यक्षमा निर्वाचित भएर काम गर्न चाहन्छु ।’