साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, गोलकिपर विकेश परेनन्

प्रकाशित मिति:

काठमाडौं-मालदिभ्समा आगामी साता सुरु हुने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २२ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन्।किरणकुमार चेम्जोङलाई कप्तानीमा निरन्तरता दिइएको टोलीमा दीप कार्की र विशाल श्रेष्ठ अन्य दुई गोलरक्षकका रुपमा रहेका छन्। दिनेश राजबंशी, सुरज जिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रे‍ष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई र सुनिल बल टोलीमा रहेका छन्।

यसैगरि आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुस घलान, कमल थापा र रोहित चन्द रहेका छन्। गोलकिपर विकेश कुथुसहित डिफेन्डर राजन गुरुङ टोलीबाट बाहिरिएका हुन्।साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुँदै छ। नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। नेपालले अक्टोबर १ तारिखमा मालदिभ्ससँग खेल्दै यात्रा सुरु गर्दै छ। नेपालले अक्टोबर ४ तारिखमा श्रीलंका, अक्टोबर १० तारिखमा भारत र अक्टोबर १३ तारिखमा बंगलादेशसँग खेल्ने छ। लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि अक्टोबर १६ तारिखमा प्रतिस्पर्धा हुँदै छ।

हाल तयारीका लागि कतारमा रहेको नेपालले आइतबार राती ओमानसँग मैत्रिपूर्ण खेल खेल्दै छ। नेपाली टोली सोमबार मालदिभ्स प्रस्थान गर्ने छ।