डा. चापागाईं र पत्रकार टि.आर. शर्मा सम्मानित

प्रकाशित मिति:

बुटवल, १० असोज । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं आइतबार एक समारोहका बीच सम्मानित हुनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार ’ विषयमा विद्यावारिधि (पीएच्डी ) गर्नुभएका वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. चापागाईंलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभूत पत्रकारिता तालिम समापन समारोहका अवसरमा सम्मान गरिएको हो ।सो कार्यक्रममा वातावरणीय लेखनमा उल्लेखनीय कार्य गरेको मूल्याङ्कन गरी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार टि.आर. शर्मालाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बधाई तथा शुभकामना दिदै प्रदेश सरकारले मिडिया क्षेत्रका समस्याको पहिचान गरी सहमतिका आधारमा कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति विपुल पोखरेलले परिवर्तित सन्दर्भमा सञ्चार गृह र सञ्चारकर्मीको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिए ।निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख भएकोले सोही भाव अनुसार सरकार अगाडि बढ्नु पर्ने बताए ।संविधानसभा सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले मिडिया विधेयकलाई सञ्चार गृह र पत्रकारमैत्री बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तैगरी अग्रज पत्रकार नारायणप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्रशिक्षार्थी पत्रकार प्रतिनिधिलगायतले बोल्दै पत्रकारिताका चुनौती धेरै भएपनि अवसरपनि भएको बताए ।
सोही कार्यक्रममा एक हप्ते आधारभूत पत्रकारिता तालिमका सहभागी प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।