एमाले बैठक : ‘आउँदाे चुनावमा पहिलाे पार्टी बनाउने प्रतिवेदनकाे निष्कर्ष

प्रकाशित मिति:

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तीन वटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । गएको शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्दै आज आइतवार समापन भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको सङ्ख्यामा नेता, कार्यकर्ता सहभागी हुने बताउनुभयो । ललितपुरको गोदावरीमा रहेको हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन तीन दिन चल्ने उहाँले जानकारी दिनुभयो ।विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट पाँच जना, प्रत्येक जनसङ्गठनका पदाधिकारी र वरिष्ठ सदस्य मध्येबाट १० जना सहभागी हुने नेता भट्टराईले बताउनुभयो ।त्यस्तै जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य एक जना महिला, प्रत्येक जिल्लाबाट एक जना दलित, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरू सहभागी हुने उहाँले बताउनुभयो ।

बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष जनताको बहुदलीय जनवाद ९जबज० ले अगाडि सारेका कार्यभारहरूलाई सम्पन्न गर्दै र क्रान्तिका उपलब्धिहरूलाई अझै संस्थागत गर्दै समाजवादी दिशामा अगाडि बढ्ने आधार तयार गर्ने रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।बैठकले आउँदा दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले एकताबद्ध र सुदृढ बनाउने निर्णय गरेको पनि उहाँले उल्लेख गर्नुभयो । आउँदो सङ्घ, प्रदेश र पालिकाको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने निष्कर्ष पनि पारित भएको प्रतिवेदनमा छ ।प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘आउँदा कार्यभारहरू स्पष्ट गरिएको छ । पार्टीलाई अझै वैचारिक, राजनीतिक, सङ्गठनात्मक हिसाबले एकताबद्ध र सुदृढ बनाउँदै सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने र नेपालमा नेकपा एमालेको पहलकदमीमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने कार्यभारलाई यो प्रतिवेदनले जोड दिएको छ । यो प्रतिवेदनले आउँदा दिनमा हुने प्रतिस्पर्धा, संसदीय चुनाव र अन्य विभिन्न चुनावको प्रतिस्पर्धामा नेकपा एमालेलाई सर्वोत्कृष्ट पार्टी बनाउने, पहिलो पार्टी बनाउने, त्यो उद्घोष यो प्रतिवेदनले गरेको छ । आउँदो संसदीय चुनावमा पार्टीले बहुमत ल्याउने, प्रदेश चुनावमा पार्टीले बहुमत ल्याउने र पालिकाको चुनावमा समेत पार्टीले बहुमत ल्याउने तयारीका साथ अब अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष यो प्रतिवेदनमा छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने । प्रतिस्पर्धाको नाममा हुने पार्टीको समूहबन्दी, गुटबन्दीजस्ता कुराहरूलाई निरुत्साहित गर्ने । पार्टीमा योग्यता, क्षमता, उसको कामको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने । त्यसको आधारमा जिम्मेवारीहरू दिने कुरा पार्टीको सङ्गठनात्मक प्रस्ताव र विधानमा हामीले उल्लेख गरेका छौँ ।’

एमालेले आउँदा दिनमा प्रशिक्षणहरूलाई नियमित गर्ने र पार्टी स्कुलहरूलाई नियमित सञ्चालन गर्नेसमेत पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।