११ देशका राजदूत पोखरामा, पदयात्रामा कास्कीकोट जाने

प्रकाशित मिति:

विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए ।

यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरुको २८ सदस्यीय टोली पोखरा आइपुगेको हो । उनीहरु दुई दिन पोखरामा रहेर पर्यटकीय गतिविधिमा सहभागी हुनेछन् । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न सकिन्छ भन्ने सन्देश दिन उनीहरुलाई निम्तो दिइएको बताइएको छ ।कोरोनाले थलो परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उदेश्यले राजदूतहरुलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागिएको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीयस्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहने बताए ।

पचास प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।दुई दिने पोखरा बसाईका क्रममा उनीहरुले पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएसन ९रेवान० सोमबार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनी सडक महोत्सवको आयोजना समेत गरेको छ ।