बुटवल उद्योग बाणिज्य संघले दशैंमा सस्तो बजार सञ्चालन गर्ने

प्रकाशित मिति:

बुटवल, ११ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले दशैंमा सस्तो बजार सञ्चालन गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि असोजको २१ गते घटस्थापना देखि २५ गते पञ्चमीको दिनसम्म सस्तो बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघ सचिवालय बालमन्दिर परिषरमा सञ्चालन गरिने ५ दिनको सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही, साल्ट ट्रेडिङ्, डिडिसी सहितका स्टलहरु राख्नेगरी दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष दशैं सस्तो बजार हुन सकेको थिएन । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिने संयोजक कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो । दशैं बजार सञ्चालनको समन्वय समितिले गर्ने र त्यसमा कार्यसमिति तथा बस्तुगत समितिहरुले सहयोग गर्ने संघले निर्णय गरेको छ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले यहि असोजको १८ गते गर्ने निर्णय भएको संघको ६८ औं वार्षिक साधारण सभा विविध कारणले अर्को निर्णय नगर्दासम्म स्थगित गरिएको छ । त्यस्तै संघको सल्लाहकार सभा यहि असोजको १६ गते गर्ने निर्णय गरिएको छ ।त्यस्तै दोस्रो चरणको रुपन्देही नवउद्यमशाला कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै यहि असोजको १५ गतेदेखि आवेदश आह्वान गर्ने निर्णय गरिएको छ ।

 

बुटवल उद्योग वाणिज्य संघमा ढुवानी बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा ढुवानी बस्तुगत समिति गठन गरिएको छ । आईतबार संघमा भएको सदस्य व्यबसायीहरुको बैठकले रामप्रसाद गैरेको सभापतित्वमा ढुवानी बस्तुगत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा विकास शर्मा आचार्यलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा गोविन्द श्रेष्ठ, खिमानन्द खनाल र उज्जवल केसीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा लोकराज पोखरेल, कमल घिमिरे, श्यामराज हमाल, जीतबहादुर भाट, रामबहादुर केसी, माधवप्रसाद नेपाललाई चयन गरिएको छ ।समिति गठन कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघका गतिबिधिको बारेमा जानकारी गराउंदै व्यबसायिका समस्या पहिचान गर्न बस्तुगत समितिलाई आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानमा संघले पहल र पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, ढुवानी बस्तुगत समितिका सल्लाहकार लोकराज पोखरेल, नवनिर्वाचित सभापति रामप्रसाद गैरे लगायतले भनाई राख्नुभएको थियो ।