नेपाल आइडलको टप फाइभबाट बाहिरिए अमित बराल

प्रकाशित मिति:

काठमाडौं मंसिर २१

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल(२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् ।शुक्रबार प्रसारित कार्यक्रममा भोटिंग र जजको मुल्यांकनका आधारमा उनी बाहिरिउका हुन् ।
बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रममा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले चुमे। कार्यक्रमकी उद्घोषक रीमा विश्वकर्माले ‘अमित बरालको नेपाल आइडलको यात्रा यहाँसम्म मात्र’ भन्दै बराल बाहिरिएको सुनाउँदा बराल पछाडि फर्केर आँसु पुछिरहेका थिए।

अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो। भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए। घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए।

बुटवल सैनामैनाका अमित बराल पनि नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका हुन्। सानो छँदा संगीतमा खासै चासो नराख्ने अमित दाजुको सपना पूरा गर्न यो क्षेत्रमा आएका हुन्। उनका दाजु भने सानैदेखि अत्यन्तै राम्रो गाउने गर्थे। पढाइमा पनि अत्यन्तै तेज थिए। केही वर्षअगाडि उनका दाजुको दुर्घटनामा मृत्यु भयो। दाजुको मृत्युले अमितलाई गहिरो चोट लाग्यो। उनले मनमनै संकल्प गरे, ‘म संगीतमै केही विशेष गर्छु र दाजुको सपना पूरा गर्छु।’

त्यसपछि सुरु भयो उनको संगीत संघर्ष। रातदिन रियाज गर्न थाले। घरमा बस्दा होस् या स्कुलमा पढ्दै गर्दा, उनी मनमस्तिष्कमा गीत गुन्गुनाइरहेका हुन्थे। बुटवलस्थित लुम्बिनी कला केन्द्रमा करिब दुई वर्षसम्म उनले औपचारिक रूपमा संगीत सिके। रातदिन मेहनत गरे र आफ्नो स्वरमा सुर दिन थाले।

हरेकपटक गीत गाउनुअघि दाजुलाई सम्झिने अमित भन्छन्, ‘मेरो जिन्दगीको अन्तिम लक्ष्य र बाँच्ने आधार पनि संगीत हो।’

आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे। उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए। ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, बाहिरिँदै गर्दा उनले भने। नेपाल आइडलमा आउनुअघि विदेश जाने तयारीमा रहेका अमितले आफू र आफ्नो दाजुको सांगीतिक सपना पूरा गर्न नेपाल आइडल वरदानकै स्वरूपमा आएको बताए।
(अन्नपुर्ण पोष्टको सहयोगमा)