नेकपा एकीकृत समाजवादी (एस) पार्टीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने गरी मन्त्री हुने सांसदको नाम टुंगो लगाएको छ ।एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।पार्टीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सांसद विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउन लागिएको एक नेताले बताए ।
एकीकृत समाजवादीको ६ मन्त्रालय पाउने टुंगो लागेको छ तर अहिले ५ जनाको मात्रै नाम पठाइएको ती नेताले बताए ।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले टुंगो लगाएका नाममध्ये प्रेम आले र जीवनराम श्रेष्ठबाहेक पहिलो पटक मन्त्री हुन लागेका नेताहरू हुन् ।बाँकी रहेको १ मन्त्रालयमा किसान श्रेष्ठ र भवानी खापुङमध्ये १ जनालाई मन्त्री बनाउने भनिए पनि टुंगो लागि नसकेको ती नेताले बताए ।
एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव नेपाललाई दिएको थियो । अध्यक्ष नेपालले स्थायी कमिटीका नेतासँग छलफल गरेर मन्त्रीको नाम छनोट गरेको स्रोतले बताएको छ ।सत्ता गठबन्धनमा सोमवारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो ।