तिलोत्तमामा सम्भावित ४० उद्यमी छनोट तथा घोषणा

प्रकाशित मिति:

वुटवल ,१२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० जना सम्भावित उद्यमीलाई छनोट गरेको छ । नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रम अनुसार ४० जना सम्भावित उद्यमीलाई छनोट गरेको छ । दायित्व परियोजनाको सहजिकरणमा नगरपालिकाले गत चैत्र १९ गते आह्वान गरेको आवदेनमा नगरका १२५ जना उद्यमीले आवदेन दिएका थिए ।

त्यसमध्ये ४० उद्यमीलाई छनोट गरि आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले उत्कृष्ट उद्यमी छनोट कार्यक्रमले ग्रामीण क्षेत्रमा लुकेर बसेका उद्यमीलाई प्रवद्धन गर्न मद्धत पुगेको बताए । यस कार्यक्रम सञ्चालन भएपछि नगरमा हजारौं उद्यमी जोश जागर बढाएको उनले बताउँदै नव उद्यमीलाई प्रेरणाको श्रोत नगरप्रमुख दायित्व ग्रामीण कार्यक्रम बन्न सकेको दाबी गरे । नगरपालिकाले उत्पादनमा आधारित कृषकलाई अनुदान दिँदै आएको घिमिरेले बताउँदै अनुदानमा हुने दुरुपयोग रोकिनको लागि सबै सचेत हुनु पर्नेमा जोड दिए ।

दायित्व ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रमका संयोजक सञ्जय पोखरेलले कृषि र पर्यटन सम्बन्धि उद्यमीको मूल्याङ्कन गरि सम्भावित ४० उद्यमीलाई छनोट गरिएको जानकारी दिए । सीप, सोच, श्रोत, साधन , सरकार , समुदाय र उद्यमी क्षेत्रमा उद्यम अभियान सञ्चालन गर्न सक्ने उद्यमी छनोट गर्ने अभियान अन्तगर्त आज घोषणा गरिएका उद्यमीको स्थलगत अवलोकन गरि उत्कृष्ट २० उद्यमी छनोट गरिनेछ । त्यसमध्ये तालिमको ब्यवस्था गरि समुदायमा भोटिङ्गको आधारमा फेरि १० उत्कृष्ट उद्यमीको छनोट गरिने छ । यसमा छनोट भएका उद्यमीले २५–२५ हजार विचकोष प्राप्त गर्ने पोखरेलले जानकारी दिनुभयो । १० उद्यमी बिचप्रतियोगिताको आयोजना गर्दै योजना र लगानी गर्न सक्ने १ जना उत्कृष्ट उद्यमीलाई परियोजनाले छनोट गर्ने छ । उत्कृष्ट एक उद्यमीले १ लाख पुरस्कार प्राप्त गर्ने छ ।

लुम्बिनी प्रदेशको तिलोत्तमा , तानसेन , मुसिकोट र गलकोट नगरपालिकामा दायित्व ग्रामीण उद्यम कार्यक्रम सञ्चालन गरिएको दायित्व परियोजनाका लुम्बिनी प्रदेशका संयोजक कमल थापाले जानकारी दिए । ग्रामीण क्षेत्रमा रहेका युवा उद्यमीलाई सीप , सोँच , श्रोत , साधन , सरकार र समुदायमा अघि बढाउनको लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।