बुटवलको चुरे पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल – लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरूका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि ३ चरणका कार्ययोजना बनाउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए ।

सोमबार नेपाली काँग्रेस बुटवल नगरसमितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले आवश्यक तयारीका लागि छिट्टै बैठक बसेर अघि बढ्ने योजनामा रहेको बताए । गएको भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएका छन् । यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहीन बनेका छन् ।बाढी पहिरो तथा डुबानले विस्थापित हुँदा समेत प्रदेश सरकारले समयमै चासो नदिएको भन्दै आलोचना हुने गरेको छ । घटना भएको एक महिना बितिसक्दा पनि सरकारले प्रभावितहरूको तथ्याङ्कनको काम समेत गर्न नसकेको भन्दै तीब्र आलोचना भएको हो ।

यसैगरी बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्थार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आवश्यक निर्देशन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् । सोमबार काँग्रेस नगरसभापति खेलराज पाण्डेसहितको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।ज्योतिनगर पहिरो तथा तिनाउ नदी करिडोरका बाढी पीडितहरूलाई राहत, उद्धार र पुनःस्थापनाका लागि सभापति पाण्डेले ध्यानाकर्षण गराएका थिए । यसैगरी चौराह–गोलपार्क सडक विस्तारको काममा ढिलासुस्ति हुनुका साथै शहरको मुख्य सडक नै धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरबासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै ध्यानाकर्षण गराएका थिए । काँग्रेसले बेलबास–बेथरी सडक विस्तार र कालिकानगर बाइपास सडक विस्तारको कामलाई समेत समयमै पूरा गर्नका लागि ध्यानाकर्षण गराएको थियो ।