राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

प्रकाशित मिति:

काठमाडौं– नेपाल राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उक्त रकम पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि ३ सय ६६ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरी बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो। सबैभन्दा बढी निक्षेप वाणिज्य बैंकहरुलाई दिने गरी राष्ट्र बैंकले २३ गतेभित्र प्रस्ताव हाल्न आह्वान गरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ निक्षेप दिने छ।

विकास बैंकहरुलाई एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ५० करोड ७९ लाख रुपैयाँ निक्षेप दिने जनाएको छ। यसका लागि राष्ट्र बैंकले केही सर्तसमेत तोकेको छ। जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति विदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी हुनपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने लगायत रहेका छन्।