मोबाइलमा ‘ब्लफ कल’को सास्ती, मोबाइल प्रयोगकर्तालाई जोखिमको सम्भावना

प्रकाशित मिति:

पछिल्लो समय विदेशी नम्बरबाट आउने ब्लफ कलबाट नेपाली मोबाइल प्रयोगकर्ताहरू हैरान हुन थालेका छन् । तर, नियामक र दूरसञ्चार सेवा प्रदायकले भने प्रयोगकर्तालाई त्यस्ता कलहरूको जोखिमबाट टाढा राख्न खासै चासो देखाएका छैनन् ।

हुन त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल नम्बरहरूमा आउने ‘ब्लफ कल’ पहिचान (ट्रेस) गर्न तथा त्यस्ता कलहरू ब्लक गर्न २० कात्तिक ०७४ मा एक कार्यटोली गठन गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयको नेतृत्वमा गठित उक्त कार्यटोलीले विभिन्न सरोकारवालासँगको छलफल, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियू)को सुझाब, अन्तर्राष्ट्रियविज्ञसँगको परामर्शबाट प्रतिवेदन तयार पारी प्राधिकरण बोर्डमा पेस गरिसकेको छ । तर, प्रतिवेदनमा औँल्याइएका सुझाबअनुसार नियमन गर्ने दिशामा भने प्राधिकरणले कुनै निर्णय लिन सकेको छैन ।

मुलुककै नम्बरमा जोखिम कम
मुलुकभित्र हुने टेलिफोन कलहरूमा विशेष सुविधा लिएको अवस्थामा बाहेक वा विशिष्ट व्यक्तिबाहेक सामान्यतया कुनै पनि सेवा प्रदायकले फोन गर्ने व्यक्तिको मोबाइल नम्बर अदृश्य गर्न वा परिवर्तन गर्न पाउँदैनन् । सोही कारण पनि मुलुकभित्र भने फोन कलबाट जोखिम निम्तिने सम्भावना न्यून हुने कार्यटोली संयोजक रोय बताउँछन् ।

यस्तो फोनमा हुन सक्छ जोखिम
भाइबर, ह्वाट्स एप, स्काइपजस्ता थुप्रै ओटिटी सेवा प्रदायकहरूले फोन कल गर्ने सुविधा दिएका छन् । यसरी प्राप्त हुने फोनकलमा कल गर्ने व्यक्तिको पहिचान नखुल्ने भएकाले त्यस्ता कल भने जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ । त्यसबाहेक फोन गर्ने व्यक्तिको नम्बर परिवर्तन भई अन्य कुनै देशको नम्बरबाट समेत फोनकल प्राप्त हुने गरेको छ । त्यस्तो अवस्थामा फोन उठाउने व्यक्ति जोखिममा पर्न सक्छ ।

नम्बर पहिचान नहुने
कल लाइन आइडेन्टिफिकेसन (सिएलआई) नभएका नम्बरबाट नेपालमा कल आउँदा कल गर्ने व्यक्तिको मोबाइल नम्बर देखिँदैन । तर, त्यस्ता कल ब्लक गर्न नियामकले भने कुनै कानुनी व्यवस्था गरेको छैन । कार्यटोलीले दिएको प्रतिवेदनमा त्यससम्बन्धी व्यवस्थाका लागि सिफारिस गरिएको भए पनि प्राधिकरण बोर्डबाट भने निर्णय हुन बाँकी छ । यद्यपि, पहिचान नभएका नम्बरहरूबाट ‘ब्लफ कल’ भित्रिन थालेपछि सेवा प्रदायकहरूले नै त्यस्ता कल भित्रिने कार्यमा रोक लगाउन थालेका छन् ।

फरक नम्बर देखिने
विदेशबाट आएका फोन कलमा कल सिर्जित देश र नम्बर देखिएको देश फरक पनि हुन सक्छ । अन्तर्राष्ट्रियस्तरमा हुने अवैध कल बाइपासका कारण यस्तो समस्या देखिने गरेको नियामकहरू बताउँछन् । विदेशबाट नेपाल कल भित्र्याउने क्यारियरले नै गलत तरिकाले आर्थिक लाभ गर्न यसरी नम्बर परिवर्तन गर्ने गर्छन् । यसरी आउने कलमा व्यक्तिको पहिचान गर्न मुस्किल हुने भएकाले मोबाइल प्रयोगकर्ता जोखिममा पर्ने सम्भावना छ ।

मिसकलको आतंक
मोबाइ प्रयोगकर्ताको नम्बरमा मिसकल आउँदा सिएलआई भएका अर्थात् कल सिर्जित मुलुक र नम्बर पहिचान भएको हुन्छ । फोन नम्बर ट्रेस गरी कल गर्ने व्यक्तिको पनि पहिचान गर्न सकिन्छ । विशेष गरी यसरी आउने मिसकलले मोबाइल प्रयोगकर्तालाई डिस्टर्ब गर्ने गरेको भए पनि खास उद्देश्य भने पैसा कमाउनु रहेको हुन्छ । एकदमै उच्च कल शुल्क भएका मुलुकबाट यस्ता कलहरू आउने गरेका छन् । यसरी सय जनालाई मिसकल गर्दा कम्तीमा ५ जनाजतिले कल ब्याक गर्ने सम्भावना रहन्छ । त्यसबाट कल ब्याक गर्ने प्रयोकर्ताको धेरै ब्यालेन्स काटिन्छ । त्यसबाट आर्थिक लाभ लिइरहेका हुन्छन् । त्यसबाट बच्न नचिनेका नम्बरमा कल ब्याक नगर्न प्राधिकरणको सुझाब छ । यस्ता विशेष नम्बर भने सेवा प्रदायकले पहिचान गर्न सम्भव रहेको एनसेलका कर्पोरेट निर्देशक प्रणयराज आचार्य बताउँछन् ।

यसरी समाधान गर्न सकिन्छ
अध्ययन कार्यटोलीले ‘ब्लफ कल’ नियन्त्रण गर्न सुझाबसहितको प्रतिवेदन तयार पारेको छ । जसमा आइटियूको सुझाबअनुसार प्रदायकहरूले सम्बन्धित क्यारियरसँग समन्वय गरी सिएलआई भएका कलहरू मात्रै नेपाल भिœयाउने व्यवस्था गर्नुपर्ने, अपराध अनुसन्धान गर्न ‘अपरेसन डाटा’का लागि अन्य देशका दूरसञ्चार नियामकसँग समन्वय गर्नुपर्नेलगायतका सुझाबहरू समेटिएको छ ।

सेवा प्रदायकलाई निर्देशन दिइसकेका छौँ
मीनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
अन्तर्राष्ट्रिय मान्यताअनुसार जुन नम्बरबाट कल आएको हो, त्यसलाई अदृश्य बनाउन मिल्दैन । त्यसविपरीत कलहरू आएको अवस्थामा रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेका छौँ । उपभोक्ता ठगिने गरी आउने ‘ब्लफ कल’ नियन्त्रण गर्ने मूल दायित्व सेवा प्रदायककै हो ।

जानकारी आउँदा प्रिफिक्स नै ब्लक गर्ने गरेका छौँ
प्रणयराज आचार्य
कर्पोरेट निर्देशक, एनसेल
ब्लफ कल गर्ने तथा पहिचान नभएका नम्बर रोक्ने गरेका छौँ । त्यसबाहेक पहिचान भएका नम्बरहरूबाट त्यस्तो कल आएको जानकारी हुनासाथ त्यस्ता नम्बरको प्रिफिक्स नै ब्लक गर्ने गरिएको छ । नम्बरको अघिल्तिर हुने त्यस्ता प्रिफिक्स कुनै पनि देशको कोडसँग मिल्दैनन् । तर, प्रिफिक्स नै परिवर्तन गर्ने सम्भावना भने कायम रहेको हुन्छ ।

नियन्त्रण चुनौतीपूर्ण छ
प्रतिभा वैद्य
प्रवक्ता, नेपाल टेलिकम
धेरै महँगो शुल्क भएका मुलुकहरूबाट यस्ता कलहरू सिर्जना भइरहेको देखिन्छ । पछिल्लो समय पोल्यान्डबाट ब्लफ कल आएको छ । हामीले त्यस्ता कलहरू पहिचान हुनेबित्तिकै सम्बन्धित कोड नै ब्लक गर्ने गरेका छौँ । यस्ता कलहरू नियन्त्रणका लागि रुट पहिचान गरेर सम्बन्धित अपरेटरले समेत समानान्तर प्रयास भइरहेको हुन्छ । यद्यपि, विश्वव्यापी रूपमा नै यस्ता कलहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिने अवस्था छैन ।