बैतडी, २० असोज-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा इन्द्रदेवशरण भट्ट सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न जिल्ला अधिवेशनले निवर्तमान अध्यक्षसमेत रहेका भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।६५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पदहरू भने पछि तोकिनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठनलाई बलियो बनाउन आफूले संगठन विस्तारमा जोड दिने नवनिर्वाचित अध्यक्ष भट्टले बताए । उनले भने, ‘राप्रपामा आवद्ध हुने युवाहरूको संख्या पनि बढ्दै गएको छ । जिल्लाभरि संगठन विस्तार अभियानमा अब म लाग्नेछु ।’
यसअघि जिल्ला अधिवेशनको उद्घाटन सत्रमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर बिष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता थियो ।