नयां शक्ति कपिलवस्तुद्वारा विभिन्न निर्णय

प्रकाशित मिति:

कपिलवस्तु, २२ मंसिर । नयां शक्ति पार्टी नेपाल कपिलवस्तुले संगठन सुदृढिकरण लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ । पार्टीको ११ औं पूर्ण वैठकले संगठन विस्तार र सुदृढिकरणका लागि राजनीतिक वैचारिक विषयलाई जनतामाझ लैजान जिल्लाका विभिन्न ३० स्थानमा कोणसभा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रले अघि सारेको ५ महिना, ५ काम, ५ परिणाम अभियानलाई जिल्लामा सफल बनाउन संगठनात्मक कामलाई तीब्रता दिने निर्णय भएको पार्टीका जिल्ला संयोजक नारायण खनालले बताए ।

अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण र नयां व्यक्तिलाई पार्टीमा आवद्ध गराउन पहल गर्ने, धु्रविकरण अभियानलाई तीब्र बनाउने र सकारात्मक राजनीतिका लागि स्वेच्छिक आर्थिक सहयोग संकलन अभियान पनि सञ्चालन गर्ने वैठकले निर्णय गरेको संयोजक खनालले बताए । वैठकमा पार्टीका प्रदेश ५ इन्चार्ज दानबहादुर चौधरी,केन्द्रीय संरक्षकहरु सदस्य विष्णुहरि शर्मा र रामलौटन तिवारी,प्रदेश ५ संगठन विभाग प्रमुख यज्ञ पोखरेल,इलियाज मुसलमान,रामनिवास पुरी,पशुपतिमणि त्रिपाठी,चोपलाल राहुल मगर लगायतले विषयगत धारणाहरु राख्दै जिल्लामा वैकल्पिक सरकार गठन गरी जनताका समस्या समाधानमा साथ दिने,भ्रष्टाचारविरुद्ध भण्डाफोर गर्ने, हत्या,हिंसा, बलात्कार, असुरक्षा लगायतका विषयमा सामाजिक आन्दोलन चलाउने विषयमा जोड दिएका थिए । वैठकले जिल्ला संगठन विभाग प्रमुखमा पदम सोमै मगर,प्रशिक्षण विभाग प्रमुखमा पशुपतिमणि त्रिपाठी,आर्थिक विभाग प्रमुखमा सन्तोष पाण्डे र कार्यालय सचिवमा राजेन्द्रमणि पाठकलाई जिम्मेवारी दिने निर्णय गरेको नयां शक्ति पार्टी प्रदेश ५ का प्रचार प्रचार प्रमुख पंकज राईले जानकारी दिए ।