कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशमा देउवा र पौडेल खेमा आआफ्ना गुट बलियो बनाउँदै

प्रकाशित मिति:

बुटवल, २२ असोज- नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै जिल्लाजिल्लामा नेतृत्वका लागि आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । कांग्रेसको जिल्ला अधिवेशन दशैँपछि हुने भनिए पनि मिति भने तय भइसकेको छैन ।

कांग्रेसमा देखापरेका दुई खेमा (सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल)बीच नै जिल्लामा पनि नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । हाल लुम्बिनी प्रदेशमा जिल्ला सभापातिहरूमा पौडेल खेमाको वर्चश्व छ । तर, प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूमा देउवा खेमाको बाहुल्य छ । यसका कारण दुवै खेमाले लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव बढाउन आवश्यक रणनीति बनाउन थालेका छन् ।

आफ्नै खेमाभित्र सहमति जुटाउन हम्मेहम्मे

एउटा खेमाबाट जिल्लामा तीनदेखि चार जनासम्म सभापतिका आकांक्षी देखिएका छन् । त्यसैले दुवै खेमालाई जिल्ला सभापतिको उम्मेदवार चयनमा हम्मेहम्मे पर्न थालेको छ । अहिले जिल्ला सभापतिमा रुचि देखाएकाहरूलाई केन्द्रीय नेतृत्वले प्रदेश सदस्य वा क्षेत्रीय सभापतिमा मिलाएर लैजाने गरी आन्तरिक छलफल गरेको नेपाली कांग्रेस बाँकेका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले बताए ।

जिल्ला सभापति पदका आकांक्षीहरूले आफ्नै खेमाभित्रबाट उम्मेदवारी पाउनका लागि दौडधुप बढाउन थालेका छन् । जिल्ला नेतृत्वका आकांक्षीले आफ्नो प्यानलबाट उम्मेदवार बन्नका लागि कसरत गर्दै आए पनि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको प्रभावले पनि नेतृत्व चयनमा केही हदसम्म भूमिका निर्वाह गर्ने देखिन्छ ।

कुन जिल्लामा कस्तो छ अवस्था ?
रूपन्देही

रूपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकले दुई कार्यकाल पूरा गरेका कारण विधानतः उनी पुनः सोही पदमा उम्मेदवार हुन मिल्दैन ।

देउवा खेमाका रज्जाक नदोहोरिएपछि देउवा खेमाभित्रबाट अब अर्को विकल्प खोज्नुपर्ने देखिएको छ । सो खेमामा जिल्ला सभापति पदका लागि गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण नै सशक्त दाबेदार देखिएका छन् । खाणले दुई कार्यकाल जिल्ला सचिव भएर काम गरिसकेका छन् । सोही खेमाबाट युवराज गिरी, फणिन्द्र शर्मा पनि जिल्ला सभापतिका आकांक्षी छन् ।

रूपन्देहीमा पौडेल खेमाबाट पनि सभापतिका लागि हरि लम्साल, थानेश्वर घिमिरे, रामचन्द्र ढकाल, अष्टभुजा पाठक र मातृका यादव दाबेदारका रूपमा देखिएका छन् । ढकालले यसअघि नै जिल्लाको नेतृत्व सम्हालिसकेका छन् भने पाठक लुम्बिनी प्रदेशसभा सदस्य पनि हुन् ।

गुल्मी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा अघिल्लो अधिवेशनमा जस्तै आधा दर्जनको हाराहारीमा सभापतिका आकांक्षीहरू मैदानमा उत्रिने संभावना देखिएको छ । अघिल्लो पटक देउवा खेमाले एकल उम्मेदवार नबनाउँदा गुल्मीमा पौडेल खेमाका भुवन श्रेष्ठले बाजी मारेका थिए । अहिले सभापतिमा देउवा खेमाभन्दा पौडेल खेमाका आकांक्षीको संख्या बढी छ ।

जिल्लाको नेतृत्वमा पुनः भुवन श्रेष्ठ नै पौडेल खेमाबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । तर, सोही खेमाका खिलध्वज पन्थी, विष्णु बलालले पनि आफू नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । पन्थी जिल्ला सचिव हुन् भने बलाल उपसभापति हुन् ।

नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाअधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी देउवा समूहबाट सभापति पदका आकांक्षी छन् । शालिक पन्थी, रविलाल ज्ञवाली, महिला नेतृ विष्णु सापकोटा पनि सभापति पदका आकांक्षी हुन् ।

बाँके

बाँकेमा जिल्ला सभापतिका लागि सात जना आकांक्षी देखिएका छन् । कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको गृहजिल्लामा पौडेल खेमाको अवस्था बलियो देखिन्छ । जिल्ला सभापति किरण कोइराला पूर्वसभापति सुशील कोइरालाकी भाइबुहारी हुन्, जसका कारण उनको झुकाव पौडेल खेमातिर छ ।

अहिले जिल्ला सभापतिका आकांक्षीमा निरञ्जन सिँजापति, राजकुमार बर्मा, बादशाह कुर्मी, ज्ञानु केसी, नारायण गौडेल, लक्ष्मीनारायण शाह र सुनिल राणाले रुचि देखाएको प्रदेशसभा सदस्य सुरेन्द्र हमालले बताए ।

सिँजापति १३औँ महाधिवेशन र बर्मा १२औँ महाधिवशेनमा जिल्ला सभापतिमा पराजित नेताहरू हुन् । सिँजापति, बर्मा, कुर्मी र शाह पार्टीभित्र देउवा खेमाका रूपमा चिनिएका छन् भने राणा, केसी पौडेल खेमाका हुन् । गौडेलचाहिँ सिटौला खेमाका मानिन्छन् ।

अर्घाखाँची

अघिल्लो अधिवेशनमा सर्वसम्मत रूपमा जिल्ला सभापति चयन भएको अर्घाखाँचीमा अहिले आधा दर्जन आकांक्षी देखिएका छन् ।

सर्वसम्मत सभापति बनेका विष्णु खनाल ‘मुस्कान’ले सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला समितिको नेतृत्वका रूपमा आफूलाई अब्बल साबित गरेका छन् । तर, यही जिल्लामा सभापति पदका लागि दुवै प्यानलका गरी आधा दर्जन आकांक्षी देखिएका छन् ।

पौडेल खेमाका ‘हार्ड लाइनर’ मानिने खनालले फेरि सभापति हुने इच्छा देखाएका छन् । पौडेल खेमाकै वर्तमान सचिव छविलाल पौडेल पनि यस पटक जिल्ला सभापति भएर पार्टी हाँक्न तयार रहेको बताउँदै आएका छन् । सोही खेमाबाट उपसभापति शान्ता भण्डारी सभापति पदको दाबेदारका रूपमा अगाडि सरेकी छन् ।

यस्तै, महासमिति सदस्य यादवप्रसाद घिमिरे पनि जिल्ला सभापतिका लागि दाबी गरिरहेका छन् । उनी देउवा खेमाका हुन् । सभापतिका अर्का दाबेदार इन्द्रमणि पौडेल र केशव श्रेष्ठ पनि चर्चामा छन् । पौडेलले खेमा नखुलाए पनि श्रेष्ठ विगतमा देउवा खेमामा सामेल थिए ।

अर्घाखाँची जिल्लाको नेतृत्वमा केन्द्रीय सदस्य पुप्पा भुषाल र केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माको भूमिका महत्त्वपूर्ण हुने आँकलन गरिएको छ ।

कपिलवस्तु

कांग्रेसको कपिलवस्तु जिल्ला कार्यसमितिको नेतृत्वका लागि पनि दुवै खेमाबाट आकांक्षीहरू नेताहरूको आशीर्वाद लिने कसरतमा छन् । राष्ट्रिय राजनीतिमा पटक पटक महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका कांग्रेस नेता दीपकुमार उपाध्यायको गृहजिल्ला कपिलवस्तुमा देउवा खेमा र पौडेल खेमाका आकांक्षीहरू आफ्नोअनुकूल माहोल बनाउन दौडधुपमा लागेका हुन् ।

वर्तमान सभापति सुरेन्द्रराज आचार्य विधानअनुसार आसन्न अधिवेशनमा सभापति पदमा उम्मेदवार हुन नमिल्ने भएकाले जिल्लाले यस पटक नयाँ नेतृत्व पाउनेछ । यद्यपि, आचार्यको सम्बन्ध कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग घनिष्ठ रहेको र कार्यकर्तामाझ पनि लोकप्रिय रहेका कारण अबको नेतृत्व चयनमा उनको भूमिका महत्त्वपूर्ण हुने कार्यकर्ताहरू बताउँछन् ।

कपिलवस्तुमा देउवा खेमाबाट नेता राजेश आचार्य सभापतिका आधिकारिक उम्मेदार बन्ने संभावना अधिक रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । कांग्रेस विभाजनकै समयमा उनले देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को जिल्ला कार्यसमितिको नेतृत्व गरेका थिए । पौडेल खेमाबाट अब्दुल कलाम, सुधाखर पाण्डेय, केशव श्रेष्ठ जिल्ला सभापतिका आकांक्षी छन् ।

पश्चिम नवलपरासी

अन्य जिल्लाको तुलनामा पश्चिम नवलपरासी जिल्लामा नेतृत्वका लागि हानथाप देखिएको छैन । यहाँ मोहन शर्मा र अर्जुन पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने संभावना बलियो रहेको प्रदेशसभा सदस्य वैजनाथ कलवारले बताए । शर्मा देउवा खेमाका हुन् भने पोखरेल पौडेल खेमाका हुन् । जिल्लाका कार्यकर्तामाझ दुवैको उस्तै पकड रहेको छ ।

पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको गृहजिल्ला नवलपरासीमा जिल्ला नेतृत्व चयनमा उनकै पनि मुख्य भूमिका रहने कांग्रेसजनहरू बताउँछन् । वर्तमान सभापति विष्णुप्रसाद पौडेलले माथिल्लो निकायमा जाने मनसाय बनाएको र जिल्लामा नयाँ अनुहारका लागि ठाउँ खाली गर्न थालेको उनी निकट नेताहरू बताउँछन् । तर, उनी आफैँ भने अहिले यसबारे बोल्ने बेला भइनसकेको बताउँछन् ।

दाङ

कुनै समय नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको बलियो पकड रहेको दाङ जिल्लामा सभापतिमा रुचि राख्नेहरू धेरै देखिएका छन् । कुनै बेला खड्काको साथ रहेका नेताहरू अहिले देउवा खेमाबाट सभापति बन्ने लाइनमा छन् ।

दाङमा कमलकिशोर घिमिरे, शंकर डाँगी, जानकीलाल बस्नेत, भूपबहादुर डाँगी, खगराज पाण्डे, राजु खनाललगायतका नेता सभापतिका दाबेदारका रूपमा देखिएको प्रदेशसभा सदस्य डिल्ली चौधरीले बताए । यीमध्ये धेरैजसो देउवा खेमाका हुन् ।

कांग्रेस नेता दीपक गिरी भने पौडेल खेमामा छन् । जिल्ला नेतृत्व चयनमा उनको पनि महत्त्वपूर्ण भूमिका रहने आँकलन गरिएको छ ।

अन्य जिल्लामा आकांक्षीहरू खुल्नै बाँकी

पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम, बर्दिया जिल्लामा भने सभापति पदका आकांक्षीहरू खुल्न बाँकी छ । जिल्लामा महाधिवेशन केन्द्रित गतिविधि बढ्न थाले पनि जिल्ला नेतृत्वका लागि अन्य जिल्लामा जस्तो यी जिल्लामा आकांक्षीहरू अघि सरिसकेका छैनन् । यद्यपि, भित्रभित्रै नेताहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भइरहेका छन् ।