निर्मला पन्तको न्यायका लागि काठमाडौँमा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौँ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँमा प्रदर्शन भएको छ । जस्टिस फर निर्मला अभियानले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।‘अहिले नजुटे कहिले जुट्ने ?, हामी नजुटे अरु को जुट्ने ?’ स्लोगनसहित निर्मलाको न्यायका निम्ति डा. गोविन्द केसीसहितकाहरु प्लेकार्ड बोकेर सडकमा आएका हुन् ।यसमा प्रधानमन्त्रीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री लेखिएको प्लेकार्ड लगाएर युवाले आँखामा पट्टि बाँधेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए । उनीहरुले ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘गोर्खालीको देशमा न्यायको अनिकाल’, ‘प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला, मलाई न्याय चाहियो’ लगायत नारा लगाएका थिए ।
बानेश्वरमा युवाहरुले सडक नाटक समेत देखाएका छन्, जसमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाइएको थियो ।यस्तै पछिल्लो समय देशभर टाँसिन थालेका निर्मलाका पोस्टहरु पनि सहभागीले बोकेका थिए ।उनीहरुले सडकमा नाटक पनि प्रस्तुत गरेका थिए । एउटा प्लेकार्डमा ‘थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल’ लेखिएको थियो ।