मोतीपुर घटनामा मृत्यु भएका थप दुईको सनाखत

प्रकाशित मिति:

बुटवल उपमहानगपालिकामा रहेको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच आइतबार भएको झडपमा मारिएका थप दुईजनाको सनाखत भएको छ। मृतक चारजनामध्ये एकजनाको आइतबार नै सनाखत भए पनि बाँकी तीनजनाको सनाखत हुन सकेको थिएन ।

सोमबार थप दुईजनाको सनाखत भएको हो । पूर्वी नवलपरासी अरुणखोलाका वर्ष १८ का उज्जव कुमाल र रुपन्देहीको सुद्धोदन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मीको पहिचान खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । अर्का एकजनाको अझै सनाखत हुन सकेको छैन ।सुरक्षा निकायले निकै संयमता अपनाउँदा अपनाउँदै पनि घटना भएको प्रजिअ तिवारीले बताए । सुरक्षा निकायलाई भिडबाट बाहिर सहज रूपमा निस्कने अवस्था नै नरहेपछि अन्तिममा प्रहरी गोली चलाउन बाध्य भएको उनले जिकिर गरे।

आइतबारको झडपमा परी १६ सर्वसाधारणसहित करिब ५० जना घाइते भएको रुपन्देही प्रशासनको भनाइ छ । बुटवलको मुख्य बजारबाट दक्षिण–पश्चिममा रहेको मोतीपुर क्षेत्र हिजो दिनभरजसो तनावग्रस्त रह्यो। साँझ ४ बजेदेखि रुपन्देही जिल्ला प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु जारी नगर्दासम्म अवस्था तनावपूर्ण थियो ।