कांग्रेस उपसभापति निधिले भने– हिमाल, पहाड र तराईलाई जोड्न सभापतिमा उम्मेदवारी

प्रकाशित मिति:

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी पार्टी उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराईवासी बीचको भावनात्मक सम्बन्धलाई जोड्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।सोमबार धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा आफूलाई हेर्न चाहिरहेको समेत बताए ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न उनले आग्रह गरे । निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको हुँ ।’

पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले स्मरण गरे ।