उदेक लाग्दो दशैं

प्रकाशित मिति:

सन्जु पौडेल । हुन त म यसै पनि चाडपर्व भनेर हुरुक्क नगर्ने प्रवृत्तिको मान्छ्े । सानैदेखि चाड विशेषमा अरुको घर जाने, अरुको व्यस्तता छंदा छंदै आशिर्वाद दिने नाममा म या गएका अन्य मानिस फर्किएपछि त्यही घरका मानिसले ढिला गरिदिए वा दक्षिणा दिने नाममा बेलुका परिवारसंग बसेर यती खर्च भयो भनेको सुन्दा लाग्थ्यो मानिसले करले आशिर्वाद दिने, दषिणा दिने गर्दा रहेछन् । त्यसैले मनसाय बन्यो, दशैं वा चाडबाड वा पुजाआजा अरुको घरमा जान नपरोस् । मलाई थाहा छैन मेरो विचार गलत कि सही तर मलाई जे बाल मश्तिष्कमा लाग्यो, म त्यहीं हुर्काईमा अघि बढेकी हुं । मलाई अभिभावक र परिवारका अन्य सदस्यले कर गर्नाले चाडबाडमा हिंड्ने कर थियो, हिंडे, हिंड््छु, तर मनले जहिलेपनि अरुको घरमा नजाम भन्ने चाहना नै राख्यो । त्यो, अहिले पनि छ, सायद रहिरहन्छ । मेरो बालापन बेलाको सोंचाई गलत पनि हुन सक्थ्यो, तर विडमबना मैले छाप बनाएं । यस्तो छाप जसले मलाई चाडबाडको हर्षोल्लासमा सामेल गराएन । म जे सोंचेर अघि बढें, त्यो पनि मलाई ठीक लाग्छ ।

सानैदेखि दशैंको टिका लगाउने दिन बिहानै ममी, बुवासंग हजुरआमाको घर जाने, सबै अग्रजको हातबाट टिका लगाउने गरिन्थ्यो । त्यहां सकेपछि बुवाको मामाहरु, अन्य ईष्टमित्र जहां जहां जानुपथ्र्यो, पछिपछि गईयो, लगाईयो । ०६६ सालबाट म पत्रकारितामा जोडिएं ।संचार माध्यमको जागिर सुचना प्रवाह गर्ने पर्यो, चाडबाडमा श्रोता, दर्शक र पाठकलाई शुभकामना दिने र लिने काम भयो । यतीबेलादेखि अरुकहां जानुपर्ने बाध्यता पनि त्यती रहेन । घरमा टिका लगाएपछि कार्यालय अनि जागिर ।
०७० सालमा बिहे भयो । चाडबाडमा नयां बुहारी । विस्तारै संस्कृतीका अन्य पाटा थपिए । यो जिम्मेवारीमा अँएपछि दक्षिणा लिनुपर्दैन । यसले आशिर्वाद मात्र लिने हो, जाम भन्ने बनायो । कम्तीमा पैसा यती खर्च भयो, भन्ने सुन्न छोडें । घरको पारिवारिक पृष्टभुमि अलि ठुलो संख्या भएकाले टिका रोकिने बढी हुन्थ्यो । केही अफ्ठ्यारा परिरहने । टिका लगाइराख्न वर्षेनी पाईएन । यसलाई सामानय लिगें, किनकी मलाई सामान्य दिनहरु बेसी मनपर्छ ।

०७७ साल मंसिर १४ । सांसारिक शरिरबाट ससुरा बुवाले विदा लिनुभयो । जुन भोगाई मेरो कल्पना भन्दा धेरै परको थियो । हामी दुवैजना कोरोना संक्रमित भएपछि बुवाले हाम्रो हेरचाह गर्दा आफ्नो स्वास्थ्यबारे ख्याल गर्नै भुल्नुभएछ । वहांमा कोरोना देखियो । विस्तारै अफ्ठ्यारो बनायो । हाम्रा हरेक प्रयास असफल भए । बुवाको अन्तिम पटक अनुहर हेर्ने, पानी पिलाइदिने, फुल भढाउने , घरदेखि विदाई गर्ने, यती मौका पनि हामीले पाएनौं । कारण बन्यो पापी महामारी बनेको रोग कोरोना । जसोतसो हामी सम्हालियौं । विकल्प पनि त थिएन । ०७८ साल असोज २७ । मैले यो लेख लेख्दै गर्दा झलझली बुवालाई सम्झेकी छु । संस्कार, परम्परा र आफन्ती बुवाका लागि अती नै महत्वपुर्ण विषय थिए । वहाको जिवनमा लागु भएको यी तीन विषयको अस्तित्व र महत्व मैले न कहिले बुझें, न अब बुझ्न पाउनेछु । आफन्त चाहीन्छ, संस्कृति मान्नुपर्छ, चाडबाडमा आफन्ती भेटघाट हुनुपर्छ , बुवा यहीं सोंचमा कट्टर हुनुहुन्थ्यो । चाड विशेषमा बुवाले मलाई संधै सम्झाएर भन्ने एउटै कुरा थियो, अफिस अफिस नभन, विदा लिग । जानुपर्छ , आशिर्वाद लिनुपर्छ । बुवा हरेक विषयलाई पारिवारिक रुपमा सोंच्नुहुन्थ्यो । टाढा टाढाका आफन्ती पनि उहांलाई नजिक लाग्ने । जसका जे परेपनि सकेसम्म जान पाए हुने, वहांलाई । बांचुन्जेल बुवाले आफुले भ्याउंदा र सक्दासम्म सबैकहां पुगेर निभाउनुपर्ने सांस्कारिक धर्म निभाइरहनुभएको थियो । दशैं जस्तो चाडमा वहांले खानाका विभिन्न परिकार बनाउन, खान, रमाउन सिकाउनुहुन्थ्यो । परिवारको अगुवा, वहांसंगै पछि लागेर हामीले चाड मनाएका हुन्थ्यौं ।

तर बुवा हामीबीच नभएपछि हामीले एक वर्ष टिका बार्नुपर्छ । लगाउनुहुंदैन । यती विषयमै मानिसका कति धेरै मुखले जताउने सहानुभुति देखिने । टिका छैन ? एक वर्ष भएको छैन ? उफ् , वर्ष भएपनि नभएपनि त्यती टिकाका लागि किन विचरा गराउंछन् मानिसहरु । म त अचम्म पर्छु । आफन्ती गुमाएको पिंडा मनमा छंदा छंदै मानिसले चाड जोडेर गर्ने विचरा अपच लाग्छ मलाई । मानौं, त्यती चाडले वर्षभरि खान दिन्छ, वा समाजमा चाड मानेपछि स्थान पाइन्छ । ए बाबा हो , कर्म गर्ने पोत , संस्कार, परम्परा चलीरहन्छ, चलाउन सकुन्जेल आफुले चलाउने हो, तर त्यसकै नाममा विचारा भनिरहनुपर्दैन हजुर । हामीलाई थाहा छ, हामीले हाम्रो परिवारको मुख्य सदस्य गुमाएका छौं, हामी त्यहीं पिंडा मनमा लिएर शक्ति बटुली काम गरिरहेका छौं । बुवाका ती अपुरा चाहना पुरा गर्ने हाम्रो दायित्व पन्छाउने प्रयासमा छौं । विन्ती दुखिरहेको घाउमा विचरा , वर्षदिन पुगेको छैन है, भनी सहानुभुती देखिने काउलो बोली नबोलीदिनुहोस् ।बुवा जहांकहीं हुनुहुन्छ, माता दुर्गाले हजुरको रक्षा गर्नुहोस् । हजुर विना कुनैपनि चाड महत्व लाग्दैनन्, लाग्नेछैनन् । चाडबाडमा हजुरको अनुहारमा देखिने खुसी , सम्झनामा सांचेर हामी पनि अघि बढ्नेछौं । सकेसम्म संस्कृति जोगाउने प्रयास गर्नेछौं । हजुरको आशिर्वाद हामीलाई रहीरहोस् ।