काठमाडौं मंसिर २३ ।
प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारले पाउँदै आएको उपाचर खर्च दोब्बर बनाउने निर्णय गरेको छ । धनुषाको जनकपुरमा यही २० देखी २२ गते बसेको काउन्सिलको पूर्ण बोर्ड बैठकले ‘जनकपुर घोषणापत्र’ जारी गर्दै यस्तो निर्णय गरेको हो ।
“प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बनाइनेछ । वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य वीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गरिनेछ,” जनकपुर घोषणापत्रमा भनिएको छ, “ऐतिहासिक भूमि जनकपुरको पवित्र धार्मिक, पर्यटकीय एवम् सांस्कृतिक विकास, प्रवद्र्धन र संरक्षणका लागि कलम चलाउन सम्पूर्ण आमसञ्चारमाध्यमलाई आग्रह गर्दछ । विकास, प्रवद्र्धन र संरक्षणमा गम्भीर बन्न नेपाल सरकारसहित सरोकारवाला सबैमा आह्वान गर्दै यसका निम्ति आफ्नो तर्फबाट सक्दो योगदान दिन प्रेस काउन्सिल नेपाल प्रतिवद्धता व्यक्त गर्दछ ।”
साथै काउन्सिलले प्रेस स्वतन्त्रता अनुगमनका लागि एक संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हनन्का घटनाको अनुगमन गर्नका लागि उपसमिति र कार्यविधि बनाइने पनि घोषणापत्रमा उल्लेख छ ।
पत्रकार आचारसंहिता उजुरी सुनुवाई र कारबाहीसम्बन्धी कार्यनीति पारित गर्ने निर्णय गरेको छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण नगरिने र सरकारबाट उपलब्ध हुने सेवा–सुविधा नदिने निर्णय पनि उक्त घोषणापत्रले गरेको छ ।
सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि आवश्यक पहल गरिने पनि घोषणापत्रमा उल्लेख छ ।