खेलाडीहरुका आर्थिक समस्याहरु राज्यले नै समाधान गर्नु पर्छ : सांसद भागवत प्रकाश मल्ल

प्रकाशित मिति:

स्याङ्जा, कार्तिक १ । कालीगण्डकी गाउँपालिका वडा नं २ मा आलमदेवी बहुउद्देश्यीय ग्रामीण सेवा परिवारद्वारा विजयादशमीको अवसरमा आयोजित पालिका तथा वडास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको आइतबार गण्डकी प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेसका सचेतक माननीय भागवत् प्रकाश मल्लले एक कार्यक्रमका बिचमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेसका सचेतक माननीय भागवत् प्रकाश मल्ल, विशिष्ट अतिथिमा भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, नेका महासमिति सदस्य माया राना, भूमा शर्मा, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माननीय भागवत् प्रकाश मल्लले खेलका माध्यमबाट युवाहरुको प्रतिभा प्रस्फुटन गराउँदै खेलाडीहरुलाई खेलेरै जीवन यापन गर्न सक्ने व्यवस्थाको विकास हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘युवाहरुलाई खेलका माध्यमबाट अगाडि बढाउनुपर्छ । खेलाडीहरुका आर्थिक समस्याहरु राज्यले नै समाधान गर्ने वातावरण बनेमात्र उनीहरुको मनोबल बढ्छ ।’

कार्यक्रममा मेयर छायाराम खनाल, दिलिपप्रताप खाँणलगायतका वक्ताहरुले खेलको महत्वमाथि प्रकाश पार्दै खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो । क्लबका अध्यक्ष बुद्धिसिंह रानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरु र खेलाडी तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।