मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै, अबको मुख्यमन्त्री को ?

प्रकाशित मिति:

विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिँदै छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए ।प्रस्तावउपर छलफलपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि मत विभाजन सुरु हुनेछ ।सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्षुमन तिवारीले छलफल र मुख्यमन्त्रीको जवाफमा अधिक समय लाग्ने देखिएकोले शुक्रबारको बैठकमा मत विभाजनको नभएको बताए ।

विपक्षीले भने मुख्यमन्त्री आचार्य र नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबानामा बुनिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधानतः सरकार अल्पमतमा परिसकेको अवस्थामा एकदुई दिन बढाउनु खोज्नु सत्तालिप्साको प्रयास मात्र भएको टिप्पणी गरे । उनले भने, “यो सरकारले असोज २४ गतेअगाडि नै विश्वासको मत लिइसक्नुपर्दथ्यो । तर, जोरजबर्जस्ती गरेर कुर्सीमा बस्ने काम भयो ।”नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले सरकार अवैधानिक रुपमा सत्तामा रहेको बताउँदै मत विभाजनसम्बन्धी सबै कार्यमा सरकारद्वारा विलम्ब भएको बताए ।सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मत विभाजन आइतबारको बैठकमा हुने जानकारी गराइसकेका छन् ।गएको असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा सभामुख भण्डारीले २५ गतेका लागि अर्को बैठक तोकेका थिए । तर, फेरि सूचना टाँस गरेर कात्तिक ५ गतेको लागि बैठक सारिएको थियो । मुख्यमन्त्री आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने सार्वजनिक रूपमै बताएका थिए । दल विभाजन भएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, दल विभाजनको सूचना प्रदेशसभामा ढिलो गरी आएको र निर्वाचन आयोगले तोकेको अवधिलाई प्रदेशसभाले वैधानिक रूपमा नचिनेको मुख्यमन्त्री आचार्यले बताउँदै आएका छन् ।

भदौ ९ गते एमाले विभाजित भएको थियो । त्यसको भोलिपल्ट तत्कालीन मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि भीम आचार्य एमाले संसदीय दलको नेता र मुख्यमन्त्री बनेका हुन् ।

अब को बन्छ मुख्यमन्त्री ?
अब विपक्षी गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् । उनलाई मुख्यमन्त्री बनाउन दलीय गठबन्धनले प्रस्ताव गरेपछि सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री भीम आचार्यको पक्षमा बहुमत नपुगे प्रदेश प्रमुख कार्यालयले समय तोकेर मुख्यमन्त्रीमा नाम प्रस्ताव गर्न दलहरूलाई आह्वान गर्नेछ । दलले मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका नेता नयाँ मुख्यमन्त्री बन्नेछन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा०, नेपाल र नेकपा (एकीकृत समाजवाद) आबद्ध छन् ।

सरकारको नेतृत्वको विषयमा विपक्षी गठबन्धन दलहरूबीच सहमति भए पनि सरकारमा गई कसले कुन र कति मन्त्रालय लिने भन्ने तय हुन भने बाँकी छ । प्रदेश १ मा सरकार गठन गर्न ४७ जना सांसद चाहिन्छ । एमाले विभाजन भएपछि पार्टीका ५१ मध्ये १० सांसद एकीकृत समाजवादीतिर लागेका छन् । प्रदेशसभामा जम्मा ९३ सांसद छन् ।