लुम्बिनीका मुख्यमन्त्रीले मनलाग्दी बजेट बाँडेको भन्दै पत्रकार महासंघले गर्‍यो सच्याउन माग

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ, रूपन्देहीले आर्थिक वर्ष २०७८/७९ का लागि लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्री कूलप्रसाद केसीका नजिकका व्यक्तिलाई मनलाग्दी रूपमा वितरण गरेको भन्दै सच्चाउन माग गरेको छ ।बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले तत्काल सच्याउन महासंघले माग गरेको हो ।

‘सञ्चारको बजेटमा मुख्यमन्त्रीको मनलाग्दी, कोषको रकम काटेर व्यक्तिलाई पैसा’भन्ने शीर्षकमा लोकान्तर डटकममा आइतवार समाचार प्रकाशित भएको थियो ।महासंघका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले निकालेको संयुक्त विज्ञप्तिमा सञ्चार क्षेत्रका लागि विनियोजन भएको बजेटमा विभेद गरिएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा सबै सञ्चारमाध्यमलाई समान रूपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरूलाई मात्रै तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको उल्लेख छ ।

विधि पद्धति र आर्थिक अनुशासनविपरीत छुट्टाइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याइ प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रूपमा वितरण हुने व्यवस्था मिलाउन महासंघले प्रदेश सरकारलाई अनुरोध गरेको छ ।