बसन्त सुवेदी अर्थात् ‘सर्पको साथी’

प्रकाशित मिति:

४ कात्तिक, दाङ । झण्डै पाँच वर्षअघिको कुरा हो, विश्वकप फुटबल चलिरहेको थियो । घोराही बजारमा ठूलो पर्दामा देखाइएको फुटबल हेरेर उनी घर फर्किंदै गर्दा सडकमा सर्प देखियो । त्यो सर्प च्याप्प समातेर घर गए । एउटा डब्बामा राखेर बिर्को लगाइदिए अनि आफू निर्धक्कले सुते ।एक दिन उनको छिमेकीको एक घरमा सर्प पस्यो । मानिसहरु ठूलाठूला लठ्ठी लिएर सर्प मार्न तम्सिए । उनले भने सर्पलाई मार्ने होइन, जिउँदै समात्ने कुरा गरे । अरुले मुख्र्याइँ नगर्न भने । तर उनले सर्प समातेरै छाडे । गाउँभन्दा अलि पर झाडीमा लगेर छाडिदिए । त्यतिबेलादेखि अहिलेसम्म उनले घरभित्र पसेका साना–ठूला सयौं सर्प जिउँदै समातेर सुरक्षित स्थानमा लगेर छाडेका छन् । र, अहिले उनी दाङ जिल्लामा ‘सर्प समात्ने केटो’ रुपमा परिचित छन् । उनी अर्थात् बसन्त सुवेदी ९२१० । सर्पलाई बट्टाभित्र थुनेको त्यही दिनदेखि उनले सर्पबारे स्वअध्ययन शुरु गरे । सर्पबारे लेखिएका लेखहरु पढे । विषालु र अविषालु सर्प चिने । पर्यावरण सन्तुलनमा सर्पको योगदानबारे थाहा पाए । सर्पलाई मार्नु हुँदैन बरु संरक्षण गर्नुपर्छ भन्ने कुरा बुझे ।

‘म सानैदेखि सर्पसँग नडराउने भएकाले अब सर्पलाई समातेर केही सिक्नुपर्यो भन्ने उत्सुकता जाग्यो,’ २१ बसन्त पूरा गरेका सुवेदी पाँच वर्षअघिको त्यो क्षण सम्झन्छन्, ‘पहिले मैले सानोमा रहरले समातेका धेरै सर्प पनि विषालु समूहमा पर्दारहेछन्, ज्ञान हासिल गरिसकेपछि पो धन्न मलाई डसेनछ भन्ने लाग्यो ।’उनले सर्प समातेको चर्चा गाउँ–टोल हुँदै जिल्लाभरी फैलियो । सर्पलाई देख्नासाथ डराउनेहरुले बसन्तलाई बोलाउन थाले । कसैले बोलायो भने रातबिरात नभनी जतिबेला पनि उनी पुगिहाल्छन् । अहिले उनी सर्प उद्धार अभियानमा पूर्णकालीनजस्तै छन् । सर्प सचेतनाका कार्यक्रममा पनि सहभागी हुन्छन् ।शुरुशुरुमा आफ्नो रुचिका कारण यसमा जोडिएका बसन्तको अब भने सर्प उद्धारको काम सामाजिक दायित्व जस्तै भइसकेको छ । ‘जिल्लाबाहिर भएको बेलामा बाहेक मैले कसैको पनि अनुरोध अस्वीकार गरेको छैन,’ बसन्त भन्छन्, ‘मध्यरातमा पनि फोन गरेर बोलाउँछन्, सर्पका कारण धेरैजना रातभरि नसुत्नुभन्दा बरु म एक्लो व्यक्ति सुत्दैन भनेर जान्छु ।’

स्वयंसेवा-केही दिनअघि घोराही उपमहानगरपालिका–१५ गुलरिया निवासी कमला कँवरको घरमा सर्प पस्यो । दुई तले घरको तल्लो तलाको भाडामा दिएको कोठामा सर्प पसेको थियो । सर्पले डस्ने हो कि भन्ने सन्त्रासमा थियो कँवर परिवार । सर्पका कारण समस्यामा परेको कँवर परिवारका लागि ठूलो सहयोगी बनेर उभिए बसन्त ।यो एउटा प्रतिनिधि घटना मात्रै हो । उनका कारण कयौंको ज्यान बचेको छ । बसन्तको कारण मानिसको मात्रै होइन, सर्पको पनि सुरक्षा भएको छ ।केही दिनअघि घरको छतबाट लडेर बसन्तकी आमाको हात भाँचियो । आमाको उपचारकै बेलामा पनि धेरैका घरघरमा सर्पको उद्धार गर्न निस्किए उनी । तर उनी न कसैबाट सहयोग लिन्छन्, न कुनै सरकारी निकायबाट सहयोग नै मागेका छन् । न उनीसँग सवारीको साधन छ, न उपयुक्त सर्प समात्ने औजार नै । तर पनि घामपानी नभनेर निरन्तर सर्प उद्धारमा जुटिरहेकै छन् । केहीलाई सर्प उद्धारको तरिका सिकाएका पनि छन् । सर्प उद्धारमा सक्रिय भएको चार वर्षको बीचमा व्यक्तिगत एक लाख बढी खर्च भइसकेको उनको अनुमान छ । सर्प उद्धार गरेवापत धेरैले आफूलाई पैसा दिन खोजे पनि आफूले नलिएको बताउँदै बसन्तले भने, ‘यसलाई मैले स्वयंसेवी अभियानकै रुपमा अघि बढाएको छु ।’सर्प उद्धारमा बसन्तको सक्रियता र लगाव देखेर घोराहीका एकजना व्यवसायी फणिराज पोख्रेलले निःशुल्क दिएको बुट र पन्जा भने स्वीकार गरे ।अहिलेसम्म अध्ययन र आत्मसन्तुष्टिका लागि सर्प उद्धारको काम गरिरहेका बसन्त भविष्यमा यही क्षेत्रमा अध्ययन अनुसन्धानमा लाग्ने इच्छा रहेको बताउँछन् ।

तीता–मीठा अनुभव-चितवनमा बिएससीएजी अध्ययनरत बसन्त नेपालमा सर्प उद्धार गर्नेहरुको समूह ‘स्नेक कन्जरभेसन सोसाइटी अफ नेपाल’का सदस्य पनि हुन् । उनले सर्प उद्धारसँगै सर्प सचेतनाबारे पनि मानिसहरुलाई बुझाउने गरेका छन् । उनीबाटै सिकेर केहीले आफैं सर्प उद्धार गर्ने गरेका छन् ।सर्पसँग सम्बन्धित केही तीता–मीठा अनुभव पनि छन् बसन्तसँग । गत वर्ष असोजमा दाङको घोराही उपमहानगरपालिका–२ सुर्केडाँगी भन्ने ठाउँका एक व्यक्तिले सुन्दर सर्प भेटिएको भन्दै बसन्तलाई उद्धार गर्न बोलाए । तर उनी त्यहाँ पुग्दा स्थानीयले त्यसलाई मारिसकेका थिए । रातो, कालो र सेतो रंगको छिर्केबिर्के त्यो सर्प हेर्दा निकै सुन्दर देखिन्थ्यो । त्यो सर्प उडेर एक ठाउँबाट अर्को ठाउँसम्म पुग्थ्यो । नेपालमा बिरलै देखिने त्यो सर्प थियो ‘अर्नेट फ्लाइङ स्नेक’ । कसैले यसलाई ‘तक्षक नाग’ पनि भने । ‘त्यो सर्प पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै पाइने भए पनि दाङमा सम्भवतः पहिलोपटक देखापरेको थियो, म पुग्न एकैछिन ढिला हुँदा स्थानीयले त्यसलाई मारिहालेछन् । मेरोलागि त्यो निकै दुःखद क्षण थियो,’ बसन्त भन्छन् ।

दुःखदसँगै सुखद क्षण पनि छन् उनीसँग । घोराहीको पनौरामा एकै घरमा लगातार दश दिनसम्म सर्प देखियो । घरधनीले बसन्तलाई बोलाएर उद्धार गर्न लगाए । तर, एघारौं दिनमा पनि त्यही घरमा सर्प देखियो । तर यसपटक ती घर धनीले बसन्तलाई बोलाएनन्, आफैंले उद्धार गरे । किनभने बसन्तले सर्प उद्धार गर्ने कलाबारे सिकाएका थिए ।सधैं म जिल्लामा नहुने भएकाले रुचि राख्नेहरुलाई उद्धार कला सिकाउने गरेको छु र मबाट सिकेर केहीले उद्धार गर्न सक्ने पनि हुनु भएको छ,’ बसन्तले भने, ‘यसबाट मलाई खुसी पनि लाग्छ ।’ सर्प व्यवस्थापनमा साधन र स्थानको अभाव-केही दिनअघि बबई गाउँपालिकामा लामो र मोटो सर्प भेटियो । स्थानीयले बसन्तलाई खबर गरे । बसन्त त्यहाँ पुगे । त्यो अजिंगर थियो । त्यति ठूलो सर्प उद्धारका लागि बसन्तसँग कुनै साधन थिएन । बीस केजी तौलको अजिंगर सर्पलाई उनले मोटरसाइकलमा राखेर तुलसीपुरको बिजौरीसम्म पुर्याए ।त्यहाँबाट डिभिजन वन कार्यालयले गाडी दिएपछि त्यो अजिंगरलाई गाडीमा राखेर जंगलमा पुर्याएर छाडे । अजिंगरको त व्यवस्थापन भयो तर अरु सर्पको व्यवस्थापनमा भने समस्या रहेको उनी बताउँछन् ।

गत वर्ष तीन सय बढी सर्पको उद्धार गरिसकेका सुवेदी यो वर्ष गर्मीयाम शुरु भएयता गोमन, करेंत लगायतका छ सय बढी सर्पको उद्धार गरिसकेको बताउँछन् । सर्प व्यवस्थापनका लागि साधन र स्थानको अभाव रहेको बसन्तको भनाइ छ ।सर्प छाड्ने निश्चित क्षेत्र भएमा भोलि सर्पको खोजी गर्नेका लागि सहज हुने उनको धारणा छ । ‘एकातिर सर्पका कारण मानिसमा त्रास हुन्छ र कतिपयको सर्पदंशबाट ज्यान पनि गइरहेको हुन्छ । अर्कोतिर सर्प मारिने क्रम पनि घटेको छैन,’ उनी भन्छन्, ‘यो अवस्था रोक्न स्थानीय सरकारहरुले सर्पको उद्धार र संरक्षणका कार्यक्रम बनाउनु राम्रो हुन्छ ।’उनी भन्छन्, ‘सर्पलाई पाल्न एकदम सजिलो छ । यिनीहरुले ठूलो ठाउँ पनि ओगट्दैनन् । एक चोटी खुवाएपछि १५ देखि एक महिनासम्म खुवाउनु पर्दैन ।’

‘सर्प शत्रु होइन’-त्यसो त केही सचेत नागरिकले बसन्तलाई सर्पसम्बन्धी सचेतनाका लागि प्रशिक्षकको रुपमा पनि बोलाउने गरेका छन् । बबई गाउँपालिकालगायतका ठाउँमा गएर उनले सर्पलाई मार्न हुँदैन भनेर सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिसकेका छन् । ‘सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन भूमिका खेल्छन् । मान्छेको ज्यान जोगाउने महत्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन् । त्यसैले सर्पलाई मार्ने होइन, जोगाउनुपर्छ भन्ने कुरा बुझाउने कोसिस गर्दै आएको छु,’ उनले भने ।बसन्तका अनुसार नेपालमा ९० भन्दा बढी प्रजातिका सर्पहरु पाइने अनुमान छ । नेपालमा पाइनेमध्ये सबैभन्दा विषालु करेत र गोमन प्रजातिका सर्पहरु हुन् । सबै सर्पहरु विषालु हुँदैनन् ।

बसन्त भन्छन्, ‘तर सबै सर्पले डसिहाल्छ र सर्पले डस्यो भने मरिहालिन्छ भन्ने अधिकांशको धारणा छ, त्यसैले सर्पलाई पूजा गर्ने हामीहरु सर्प देख्नासाथै मार्न पनि तम्सिहाल्छौं । सर्प हाम्रा शत्रु होइनन् भन्ने कुरा बुझाउनु छ ।’ सर्पले आफू असुरक्षित महसुस भएमा मात्र डस्ने बताउँदै उनले सर्पको विष झारफुकबाट नहट्ने भएकाले यस्ता कुरामा विश्वास गर्न नहुने बताए । सर्पले डसेमा जतिसक्दो छिटो अस्पताल जानुपर्ने उनको सुझाव छ ।उनी भन्छन्, ‘सर्पले टोकेमा उपचार गर्न चाहिने औषधि एन्टीस्नेक भेनम सर्पको विषबाटै बन्छ । क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि पनि सर्पको विषबाट बन्छ, त्यसैले सर्पलाई मार्ने गल्ती गर्नै हुँदैन ।’ तस्वीरहरू : कुलदीप न्यौपाने @onlinekhabar