विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका सांसद राजेन्द्र राईले दाबी पेश गरेका छन्। गठबन्धनका बहुमत सांसदको हस्ताक्षरसहित राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी प्रस्तुत गरेका हुन्।
अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर आह्वान गरेका थिए। आह्वान गरेको दुई घण्टा पनि बित्न नपाउँदै गठबन्धनले समाजवादीका राईलाई मुख्यमन्त्रीमा दाबी गरेको हो। राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर पेस गरिएको हो। जसमा कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन्।
राईले मंगलबार पद तथा गोपनीयको शपथ लिने भएका छन्। अल्पमतमा पर्ने भएपछि भीम आचार्यले सोमबार नै राजीनामा दिएका थिए।