प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले मिडिया विधेयकमा प्रेस स्वतन्त्रता प्रतिबद्ध रहदै पत्रकारको हकहितमा हुने गरी ल्याउने बताए ।मुख्यमन्त्री पोखरेलले पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने बताए । उनले प्रदेश सरकारले मिडिया विधेयक ल्याउँदा पत्रकारसँग प्रयाप्त छलफल गरेर पत्रकारकै हितमा हुने गरी ल्याउने बताए ।

मुख्यमन्त्री पोखरेलले पत्रकारले कुनै सरकारको तारिफ गर्नु भन्दा त्यसको तथ्यमा आधारित भएर चर्चा परिचर्चा गर्न आग्रह गरे । ‘पत्रकारले कुनै सरकारको तारिफ गर्नु भन्दा तथ्यमा आधारित भएर राम्रो कामको प्रशंसा,नराम्रो कामको आलोचना गर्नुपर्छ,’ उनले भने, ‘यसले पत्रकारको व्यवसायीक धर्म निर्वाह हुन्छ,लोकतन्त्रीक पद्धतिलाई थप मजबुत बनाउँछ ।’मुख्यमन्त्री पोखरेलले देशको नयाँ राजनीति घटना क्रमले गर्दा गण्डकी प्रदेशमा मुख्यमन्त्रीको अवसर प्राप्त भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा हाल देखा परेको राजनीति संकट टार्न राष्ट्रिय एकता गर्न जरुरी रहेको बताए । उनले अहंकार र दम्भको कारण देशमा अस्थिरता निम्तिएको दाबी गरे ।