बार्सिलोनाको जितमा मेस्सी नायक

प्रकाशित मिति:

एजेन्सी । लियोनेल मेस्सीले फ्रीकिकमा गरेको दुई गोल प्रेरित बार्सिलोनाले इस्पानियोललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ ।

बार्सिलोनाका मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल थपे । मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए  । इस्पानियोलको मैदानमा शनिबार राति बार्सिलोनाले १७औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको थियो । २६औं मिनेटमा डेम्बेलेले मेस्सीको पासलाई गोलमा परिणत गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा३–० को अग्रता बनायो । स्वारेजले डेम्बेलेको पासलाई सदुपयोग गरेका हुन्। ६५औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । जितपछि बार्सिलोना १५ खेलबाट ३१ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्पान्योल २१ अंकसहित नवौं स्थानमा छ ।

शनिबार राति नै अन्य खेलमा सेभियाले भ्यालेन्सियासँग १–१ को बराबरी खेलेको छ । सेभियाले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म जोगाउन नसक्दा अंक बाड्नु परेको हो । सेभिल्लाका पाब्लो साराबियाले गोल गर्दा भ्यालेन्सियाका मौकटार डिदावेले इन्ज्युरीमा  बराबरी गोल फर्काएका हुन् ।

बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो तथा १८ अंकसहति भ्यालेन्सिया १३औं स्थानमा छ । तेस्रो स्थानको एट्लेटिको मड्रीडले अलभेसलाई ३-० ले हरायो । एट्लेटिकोका लागि निकोला कालिनिच, एन्टोनियो ग्रीजम्यान र रोड्रीले गोल गरे ।
सेल्टा भिगोले भिल्लारियाललाई ३-२ ले हरायो ।