कसरी प्राप्त गर्छन् नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड ? जान्नुहोस् !!

२५ मंसिर २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


डा. अर्जुन बन्जाडे नेपालीहरू विभिन्न तरिकाबाट अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्। अमेरिकाको ग्रिन कार्ड (Green Card) अर्थात् कानुनी स्थायी बासिन्दा (Lawful Permanent Resident) हुनेहरू अमेरिकी आप्रवास र नागरिकता सम्बन्धी कानुन अन्तर्गतका आप्रवासी हुन् जसलाई अमेरिकाको कुनै पनि स्थानमा स्थायी रूपमा बसोबास गर्न र काम गर्न अधिकार हुन्छ र निश्चित समय पछि सबै प्रक्रिया पुगेमा यिनीहरूले अमेरिकाको नागरिकताको लागि आवेदन दिन पाउँछन्।

ग्रिन कार्ड हुनेलाई केन्द्रीय सरकारबाट कानुन सम्मत दिइने सुविधा र अन्य अवसरहरू प्राप्त हुन्छन्। ग्रिन कार्ड लिएका नेपालीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अधिकार छ र उनीहरूलाई अमेरिका प्रवेश गर्दा भिसा लिईरहनु पर्दैन। तर, ग्रिन कार्ड हुनेले केन्द्र सरकारका जागिरहरू (Federal Jobs) गर्न पाउँदैनन्, ग्रिन कार्ड हुनेले अमेरिकाका कुनै पनि निर्वाचनहरूमा उम्मेदवार हुन् वा भोट दिन पाउँदैनन् र ग्रिन कार्ड हुनेले अमेरिकी अदालतमा जुरीको रूपमा सेवा गर्न पाउँदैनन्।

अमेरिकाको ग्रिन कार्ड लिएका नेपालीहरू सबै नेपाली नागरिक हुन् र उनीहरूले अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नुपर्छ। यसो हुँदा हुँदै पनि विगतका केही वर्षमा हजारौंको सङ्ख्यामा नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्।

अमेरिका आउने नेपालीहरूको सङ्ख्या सन् १९८० को दशकभन्दा अगाडि नगन्य भएको र तथ्याङ्कहरूको सहज उपलब्धताको आधारमा यस लेखमा सन् १९८६ र त्यस पछिका तथ्याङ्कहरू मात्र समावेश गरिएका छन्। अन्यथा उल्लेख भए बाहेक यस लेखमा समावेश सबै तथ्याङ्कहरूका श्रोत अमेरिकाको गृह मन्त्रालय (U.S. Department of Homeland Security) हो ।

अहिलेसम्म कतिले लिए होलान् अमेरिकाको ग्रिन कार्ड ?

नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमाडौंमा अमेरिकाको राजदूतावासको स्थापना हुनुभन्दा पहिले नेपालबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या विरलै थियो। नेपालमा सन् १९५० मा राणा शासनको अन्त्यपछि अमेरिकामा आउने नेपालीहरूको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै थियो। तर, सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आयो। तर, सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र अमेरिकामा सन् १९९० मा तत्कालीन अमेरिकन ४१ औं राष्ट्रपति जर्ज वाल्कर बुस (जसको हालसालै देहावसान भयो) को समयमा पारित डाइभर्सिटी प्रोग्राम (diversity program) पनि भएको अध्यागमन कानुनले सृजित वातावरणले नेपालीहरूको अमेरिकामा आउने क्रम को वृद्धिमा महत्तपूर्ण भूमिका निभायो। त्यस्तै नेपालमा माओवादी आतङ्कबाट सृजित वातावरणले ठूलो सङ्ख्यामा नेपालीले अमेरिकामा शरणार्थी बने र यस माध्यमबाट ठूलो सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड पाए।

प्राप्त तथ्याङ्कबाट के देखिन्छ भने आर्थिक वर्ष १९८६ (October 1, 1985 to September 30, 1986) मा जम्मा ८६ जना नेपालीहरूले अमेरिकाको स्थायी बसोबासको प्रमाणपत्र (ग्रिन कार्ड) लिएका थिए भने आर्थिक वर्ष २००२ मा वार्षिक १,००० भन्दा नेपालीहरूले ग्रिन कार्ड लिए र आर्थिक वर्ष २०११ आउँदा यो सङ्ख्या १०,००० नाघ्यो। आर्थिक वर्ष २०१३ मा ग्रिन कार्ड लिने नेपालीहरूको सङ्ख्या सबभन्दा बढी १३,०४६ पुग्यो र त्यस पछिका वर्षहरूमा ग्रिन कार्ड लिनेको सङ्ख्यामा केही कमी आएको देखिन्छ। आर्थिक वर्ष १९८६ देखि २०१७ सम्ममा महिला र पुरुष गरी जम्मा १२१,६०१ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ।

आर्थिक वर्ष २०१७ को अन्त्यसम्म जम्मा १ लाख २१ हजार ६ सय १ नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ भने त्यस मध्ये ३२ हजार ४ सय ८५ नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ। ग्रिन कार्ड लिएको सङ्ख्याबाट अमेरिकाको नागरिकता लिएको सङ्ख्यालाई घटाउँदा आर्थिक वर्ष २०१७ को अन्तमा जम्मा ८९ हजार १ सय १६ जना सँग अमेरिकाको ग्रिन कार्ड भएको देखिन्छ र जसले गर्दा अमेरिकी नागरिकता लिने नेपालीहरूको सङ्ख्या आगामी वर्षहरूमा अझ बढ्ने निश्चित छ।

छिमेकी देशबाट कतिले लिए ग्रिन कार्ड?

दक्षिण एसियाली सहयोग सङ्गठन अर्थात् सार्क देशहरू मध्ये आर्थिक वर्ष २०१७ मा सबभन्दा धरै जनसंख्या भएको भारतबाट ६० हजार भन्दा बढी र सबभन्दा कम जनसङ्ख्या भएको देश माल्दिसबाट जम्मा ५ जनाले अमेरिकाको ग्रिन कार्ड पाएको देखिन्छ।

भुटान यस्तो देश रह्यो जहाँबाट आर्थिक वर्ष २०१७ मा अमेरिकी ग्रिन कार्ड लिनेभन्दा नागरिकता लिनेको सङ्ख्या बढी थियो। आर्थिक वर्ष २००८ मा जम्मा ४२ जना र २००९ मा जम्मा ५९४ जना भुटानीले अमेरिकाको ग्रिन कार्ड पाएका थिए तर, नेपालमा रहेका भुटानीहरू सन् २००८ देखि अमेरिकामा बसाइ सर्न सुरु गरेपछि यो सङ्ख्यामा निकै वृद्धि भयो।

अमेरिकी ग्रिन कार्ड लिने भुटानीहरूको सङ्ख्या आ. ब. २०१० मा ६,१०९; आ. ब. २०११ मा १०,१३७ र आ. ब. २०१२ मा १०,१९८ पुग्यो र क्रमशः कम हुँदै आ. ब. २०१७ मा जम्मा २,९४० भुटानीहरूले अमेरिकाको ग्रिन कार्ड लिए भने अमेरिकामा बसाइ सरिसकेका भुटानीहरूले ठूलो सङ्ख्यामा अमेरिकाको नागरिकता लिन सुरु गरेको देखिन्छ।

नेपाली ग्रीनकार्डधारीहरु को जनसांख्यकीक विशेषताहरू

महिलाहरूको सङ्ख्या बढ्दो

आर्थिक वर्ष २००३ देखि २००५ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूको सङ्ख्यामा पुरुष र महिलाको अनुपात ५७:४३ अर्थात् ५७% पुरुष र ४३% महिला हुने गर्थे। महिलाको अनुपात क्रमशः बढ्दै गएर आर्थिक वर्ष २०१२ मा यो अनुपात पुरुषको हाराहारीमा पुग्यो भने आर्थिक वर्ष २०१६ देखि त महिलाको अनुपात पुरुषको भन्दा बढी हुन थालेको देखिन्छ।

ग्रिन कार्ड पाउनेमा युवाहरू नै बढी

सन् २००३ देखिको तथ्याङ्कलाई केलाउँदा अमेरिकाको ग्रिन कार्ड लिने नेपालीहरूमा युवाहरू बढी देखिन्छन्। सुरुका वर्षहरूमा ग्रिन कार्ड लिने नेपालीहरू मध्ये ९० प्रतिशत भन्दा बढी नेपालीहरू ४५ वर्ष भन्दा कम उमेरका थिए। आर्थिक वर्ष २००३ देखि २००९ सम्म ग्रिन कार्ड पाउने व्यक्तिहरूमा पाँच भागमा एक भाग अर्थात् करिब २० प्रतिशत व्यक्तिहरू १८ वर्ष वा सो भन्दा कम उमेरका थिए।

तर, आर्थिक वर्ष २०१० देखि २०१२ सम्म ग्रिन कार्ड पाउने युवाहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यो अवधिमा ग्रिन कार्ड पाउने नेपालीमध्ये ४० प्रतिशत भन्दा बढी व्यक्तिहरू १८ वर्ष वा मुनिका थिए।

आर्थिक वर्ष २०१४ देखि क्रमशः १८ वर्ष वा कम उमेरका ग्रिन कार्ड लिने नेपालीको प्रतिशतमा कमी आएको छ । यसो हुनुमा नेपालमा भएको शान्ति सुरक्षाको कारणबाट अमेरिकामा शरणार्थी बनेका व्यक्तिहरू, जसमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू थिए। उनीहरूले ग्रिन कार्ड प्राप्त गर्नु हुनसक्छ।

आर्थिक वर्ष २००३ देखि २००९ सम्म ग्रिन कार्ड पाउनेहरूमा सबभन्दा बढी २५ देखि ३४ वर्ष उमेर समूहका थिए। तर, आर्थिक वर्ष २०१० देखि २०१४ सम्म सबभन्दा बढी १८ वर्ष वा सो भन्दा कम उमेरका नेपालीहरूको सङ्ख्या बढी रह्यो भने आर्थिक वर्ष २०१५ देखि पुन २५ देखि ३४ वर्षका उमेर समूहका व्यक्तिहरूको बाहुल्यता देखिन्छ ।

विवाहित कि अविवाहित

आर्थिक वर्ष २००३ देखि २००९ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूमा धेरैजसो विवाहित थिए। तर, आर्थिक वर्ष २०१० देखि २०१४ सम्म ग्रिन कार्ड पाउने नेपालीहरूमा अविवाहितको सङ्ख्यामा उल्लेखनीय वृद्धि भयो। यसको मुख्य कारणमा एस समयमा १८ वर्ष वा कम उमेरका धेरैले ग्रिन कार्ड लिएका थिए। आर्थिक वर्ष २०१५ देखि पुन: अमेरिकाको ग्रिन कार्ड पाउनेमा अविवाहितको दाँजोमा विवाहित नेपालीहरू बढी थिए।

ग्रिन कार्ड पाउने सबभन्दा बढी टेक्ससमा

आर्थिक वर्ष २००३ देखि २०१७ सम्मको तथ्याङ्कलाई केलाउँदा सबभन्दा बढी सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड लिएको राज्यमा क्रमशः टेक्सस, न्युयोर्क र क्यालिफोर्निया पर्छन्।

त्यसपछि भर्जिनिया, म्यारिल्याण्ड, म्याशाचुटेश र कोलोराडो राज्यबाट ठूलो सङ्ख्यामा नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ। यहाँ उल्लिखित तथ्याङ्कमा अमेरिकाको विभिन्न राज्यबाट ग्रिन कार्ड लिई टेक्ससमा बसाइ सरेका नेपालीहरूलाई समावेश गरिएको छैन।

आर्थिक वर्ष २००३ मा टेक्ससबाट जम्मा २१३ जना नेपालीहरूले ग्रिन कार्ड लिएका थिए भने आर्थिक वर्ष २०१७ मा एस राज्यबाट सबभन्दा बढी १,६०९ जना नेपालीहरूले ग्रिन कार्ड पाएको देखिन्छ। त्यस्तै, न्युयोर्कबाट आर्थिक वर्ष २००३ मा जम्मा १९८ जना ले ग्रिन कार्ड लिएकोमा आर्थिक वर्ष २०१७ मा एस राज्यबाट १,३४५ जनाले ग्रिन कार्ड लिए।

आर्थिक वर्ष २००३ मा सबभन्दा बढी २६७ जना नेपालीहरूले क्यालिफोर्नियाबाट ग्रिनकार्ड पाएका थिए। तर, आर्थिक वर्ष २०१७ मा एस राज्यबाट तेस्रो ठूलो सङ्ख्यामा जम्मा १,११७ जना नेपालीहरूले ग्रिन कार्ड पाएको देखिन्छ।

ग्रिन कार्ड पाउने मुख्य तरिकाहरू

आर्थिक वर्ष २०१७ मा मात्र अमेरिकाले संसारभरबाट विभिन्न वर्गमा गरी जम्मा १,१२७,१६७ जना लाई ग्रिन कार्ड प्रदान गर्‍यो भने यी मध्ये ११,६१० जना नेपालीहरू थिए।

अमेरिकाको ग्रिन कार्ड पाउने मुख्य तरिकाहरू लाई ५ वर्गमा विभाजन गर्न सकिन्छ:

  • अमेरिकन नागरिकले आफ्ना नजिकका नातेदारहरूलाई प्रायोजन गरेर अमेरिकाको ग्रिन कार्ड दिलाउन सक्छन्
  • अमेरिकन नागरिकता वा ग्रिन कार्ड लिएका व्यक्तिहरूले प्रायोजन (sponsor) गरेर आफ्ना परिवारका सदस्यहरूलाई ग्रिन कार्ड लिन सहयोग गर्न सक्छन्
  • अमेरिकाका उद्योगधन्दा वा व्यवसायहरूले प्रायोजन गरेको अवस्थामा नेपालीहरूले ग्रिन कार्ड पाउन सक्छन्
  • डी भी चिट्ठा परेर (diversity visa lottery) अमेरिकाको ग्रिन कार्ड पाइरहेका छन्
  • शरणार्थीको रूपमा पनि धरै नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड पाएका छन्।

अमेरिकन नागरिकका नजिकका नातेदारहरू

अमेरिकन नागरिकता लिएका व्यक्तिहरूले आफ्ना नजिकका नातेदारहरू (immediate relatives of U.S. citizens) लाई प्रायोजन गर्न सक्छन् जसमा नागरिकका श्रीमान् वा श्रीमती, २१ वर्ष भन्दा कम उमेरका अविवाहित छोरा छोरी र बुबा आमा पर्छन्।

यस वर्गमा आर्थिक वर्ष २०१७ मा संसारभरबाट ३०२,३४३ महिला र २१४,१६३ पुरुषहरूले ग्रिन कार्ड पाएका मध्ये १,६५५ महिला र १,०२९ पुरुष गरी जम्मा २,६८४ जना नेपालीहरूले पनि अमेरिकाको ग्रिन कार्ड पाई अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन भएको देखिन्छ।

अमेरिकाले यस वर्गमा वर्षमा कति जनालाई ग्रिन कार्ड दिने भन्ने सीमा तोकेको छैन र साधरणतया प्रत्येक वर्ष दिइने ग्रिनकार्ड मध्ये ४० प्रतिशत ग्रिनकार्डहरू यस वर्गमा पर्छन्।

अमेरिकन नागरिक र ग्रिन कार्ड लिएका परिवारका सदस्यहरू

अमेरिकन नागरिकले नजिकका नातेदारहरूमा नपरेका परिवारका अन्य सदस्यहरू (family-sponsored preferences) जस्तै अमेरिकन नागरिकका विवाहित वा अविवाहित छोराछोरीहरू र तिनका छोराछोरीहरू, २१ वर्ष वा बढी उमेरका भाइ बहिनीहरू र तिनका श्रीमान् वा श्रीमती लाई पनि प्रायोजन गर्न सक्छन्।

त्यस्तै, ग्रिन कार्ड लिएका व्यक्तिहरूले पनि आफ्ना श्रीमान् वा श्रीमती र अविवाहित छोराछोरीहरू लाई प्रायोजन गर्न सक्छन्। आर्थिक वर्ष २०१७ मा मात्र एस वर्ग अर्थात् family-sponsored preferences संसार भरबाट २३२,२३८ जनाले ग्रिन कार्ड पाएका मध्ये ६३३ महिला र ४३१ पुरुष गरी जम्मा १,०६४ जना नेपालीहरूले पनि आफ्ना अमेरिकामा भएका परिवारका सदस्य सँग पुनर्मिलन हुने अवसर प्राप्त गरे।

अमेरिकाले यस वर्गमा आर्थिक वर्ष २०१८ को लागि संसारभरबाट जम्मा २२६,००० जनालाई ग्रिन कार्ड दिने गरी सीमा तोकेको छ भने कुनै एक देशको लागि यो सीमा १५,८२० तोकिएको छ। यसले गर्दा कुनै पनि देशबाट वर्ष मा १५,८२० जना भन्दा बढी व्यक्तिले family-sponsored preferences बाट अमेरिकाको ग्रिन कार्ड पाउन सक्दैनन्।

नेपालबाट धेरै सानो सङ्ख्यामा यस वर्गमा ग्रिन कार्ड पाउनेहरू भएकोले यो प्रावधानले खासै असर गर्दैन। तर, मेक्सिको तथा हाम्रै छिमेकी भारतबाट लाखौंको सङ्ख्यामा अमेरिकाको नागरिक बनेका छन् र हजाराैको सङ्ख्यामा यस वर्गमा ग्रिन कार्डको लागि लाइनमा छन् तिनलाई यस्ता सीमाले धेरै असर गर्छ।

कामको आधारमा पाइने ग्रिन कार्ड

कामको आधारमा पाइने ग्रिन कार्ड अर्थात् employment-based preference मा प्राथमिकतामा परेका कामदारहरू, उच्च शिक्क्षा लिएका क्षमतावान् व्यक्तिहरू र काम सृजना गर्ने व्यक्तिहरू पर्छन्।

अन्य देशका नागरिक जस्तै नेपालीहरू पनि यदि अमेरिकामा आवश्यक सिप र दक्षता प्रदान गर्न सक्छन् भने वा अमेरिकामा काम सृजना गर्ने गरी आवश्यक लगानी गर्छन् भने एस वर्गबाट ग्रिन कार्ड पाउन सक्छन्।

आर्थिक वर्ष २०१७ मा संसारभरबाट यस वर्गमा १३७,८५५ जनाले ग्रिन कार्ड पाएका मध्ये ५९६ महिला र ७५९ पुरुष गरी जम्मा १,३५५ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ।

अमेरिकाले आर्थिक वर्ष २०१८ को लागि एस वर्गमा संसारभरबाट जम्मा १४०,००० जनालाई ग्रिन कार्ड दिने गरी सीमा तोकेको छ कुनै एक देशको लागि यो सीमा ९,८०० तोकिएको छ।

ग्रिन कार्ड चिट्ठा

भाग्यशालीहरू (?) को लागि अमेरिकाको ग्रिन कार्ड प्राप्त गर्ने सबभन्दा सजिलो उपाय ग्रिन कार्ड चिट्ठा अर्थात् diversity visa lottery हुन सक्छ।

शङ्का आशङ्का बिच एस सालको डी. भी. चिट्ठा खुल्यो र आवेदन दिने म्याद पनि सकियो। लाखौँको सङ्ख्यामा नेपालीहरूले नेपालबाट र विभिन्न देशहरूबाट यसपालि पनि डी भी को लागि फर्म लुकी लुकी वा हाँकाहाँकी रूपमा भरे।

नेपालीहरू जुनसुकै देशमा बसोबास गरेका भए पनि नेपालमा जन्मेका भए र आवश्यक सर्त पुरा गरेका भए डी भी को लागि फर्म भर्न सक्छन्। यदि चिट्ठा पर्‍यो भने र अन्य आवश्यक सर्त पुरा भएका छन् भने चिट्ठा भर्दा समावेश परिवारका सदस्यसहित अमेरिकामा स्थायी बासिँदाको रूपमा जान पाउँछन्।

यस वर्गमा आर्थिक वर्ष २०१७ मा संसार भरबाट ५१,५९२ जनाले ग्रिन कार्ड पाएका मध्ये जम्मा १,३७१ महिला र १,८३४ पुरुष गरी जम्मा ३,२०५ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ। अमेरिकाले विगतमा जस्तै एस वर्ष को लागि संसारभरका देशहरू मद्द्ये अमेरिकामा धेरै कम सङ्ख्यामा बसाइ सरेका देशहरूबाट जम्मा ५०,००० जनालाई चिट्ठा प्रथा बाट ग्रिन कार्ड दिने गरी सीमा तोकेको छ।

सबै जसो यस्ता निवेदकहरू अमेरिका बाहिरका देशमा भए पनि अमेरिकामा अन्य भिसा मा भएका नेपालीहरूले पनि यो चिट्ठामा भाग लिन पाउँछन्। तर भारत र चिन जस्ता देश हरू, जहाँका मानिसहरू उच्च दरमा अमेरिकामा बसाइ सरेका छन्, यी देशका बासिन्दाहरू डी भी चिट्ठामा भाग लिन पाउँदैनन्।

शरणार्थी

शरणार्थी अर्को माध्यम हो जसबाट सबभन्दा बढी नेपालीहरूले ग्रिन कार्ड पाएका छन्। शरणार्थी मुख्यतया दुई थरी हुन्छन् – refugees र asylum ।

पहिलो वर्गमा नेपाल र अमेरिकाभन्दा बाहिर भएका नेपालीहरू पर्छन् जो नेपाल फर्कन सक्दैनन् वा फर्केमा ज्यानको खतरा महसुस गर्छन्। अर्को समूहमा पर्ने नेपालीहरू अमेरिकामा बस्छन् र नेपाल फर्कन सक्दैनन् वा फर्केमा ज्यानको खतरा महसुस गर्छन्।

अमेरिकामा शरणार्थी भएर ग्रिन कार्ड प्राप्त गर्ने धेरै जसो नेपालीहरू अमेरिकामा आई asylum मार्फत उक्त ग्रिन कार्ड प्राप्त गरेका हुन्। यस वर्गमा आर्थिक वर्ष २०१७ मा संसार भरबाट १४६,००३ जनाले ग्रिन कार्ड पाएका मध्ये १,६४२ महिला र १,६४५ पुरुष गरी जम्मा ३,२८७ जना नेपालीहरू थिए।

सामन्यतया asylum पाएको एक वर्षपछि ग्रिन कार्डको लागि निवेदन दिन सकिने भएको र विगतका वर्षहरूमा उच्च दरमा नेपालीहरूले asylum पाएकोले शरणार्थीर्को माध्यमबाट ग्रिन कार्ड पाउनेको सङ्ख्या ठूलो भएको हुन सक्छ ।

सारांशमा

अमेरिकाको ग्रिन कार्ड पाउने नेपालीहरूको सङ्ख्या बढ्दो छ। सार्क राष्ट्रहरूमध्ये भुटान पछि देशको जनसङ्ख्याको दाँजोमा अमेरिकन ग्रिन कार्ड पाउनेहरूको सङ्ख्या नेपालीहरूको उच्च छ। त्यस्तै, नेपालपछि देशको जनासंख्याको अनुपातमा धेरै व्यक्तिहरूले अमेरिकाको ग्रिन कार्ड पाउने देशमा अफगानिस्तान पर्छ।

भुटानको सम्बन्धमा नेपालमा रहेका भुटानी शरणार्थीहरू सन् २००८ देखि अमेरिकामा पुनर्वास गर्न सुरु गरेकोले भएको हो। अफगानिस्तानमा सन्दर्भमा त्यहाँ कार्यरत अमेरिकी सेनालाई सघाउने अफगानिस्तानिहरू अमेरिकामा बसाई सर्नाले विगतका केही वर्षदेखि ग्रिन कार्ड पाउने अफगानिस्तानिहरुको सङ्ख्या ठूलो भएको हो।

नेपालको सन्दर्भमा ग्रिन कार्ड लिनेको सङ्ख्या उच्च हुनुका मुख्य तीन कारणहरूमा: पहिलो, नेपालमा माओवादी आतङ्कबाट सृजित अशुरक्षाको कारण ठूलो सङ्ख्यामा नेपालीहरू अमेरिकामा शरणार्थी बन्नुले हो।

दोस्रो, डीभी चिट्ठाको माध्यमबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या ठूलो हुनु हो।

तेस्रो, अमेरिकन नागरिकता लिएका नेपालीहरूले आफ्ना नजिकका नातेदारहरूलाई ग्रिन कार्डको लागि प्रायोजन गरेकोले हो।

सुरूका वर्षहरूमा महिलाको दाँजोमा पुरुषहरू बढी भएता पनि हाल सालैका वर्षहरूमा नेपाली महिला पनि पुरुष सरह वा अझ बढी सङ्ख्यामा ग्रिन कार्ड पाइरहेका छन्। ठूलो अनुपातमा ग्रिन कार्ड पाउने नेपालीहरू युवा उमेका छन् र केही अपवाद का वर्षहरू बाहेक ग्रिन कार्ड पाउने नेपालीहरूमा विवाहितहरूको अनुपात बढी देखिन्छ।

ग्रिन कार्ड पाउनेहरू नेपालीहरू सबभन्दा बढी टेक्ससमा छन् र त्यसपछि ठूलो संख्यामा ग्रिन कार्ड वाला नेपालीहरू न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्यान्ड, माशाचुटेश र कोलोराडोमा छन्।

(लेखक डा. अर्जुन बन्जाडे एनआरएन-अमेरिकाका बोर्ड अफ डाइरेक्टर हुन्)

@setopati

फेसबुकबाट तपाईको प्रतिक्रिया