कांग्रेसको निश्कर्ष– सरकार अधोगति तिर भासियो

प्रकाशित मिति:

मङ्सिर २५ काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकार अधोगति तिर भाँसिएको आरोप लगाएको छ । कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारले अर्थतन्त्र लथालिंग पारेको आरोप लगाइएको छ ।

महासमिति बैठकमा पेश गर्न तयार पारिएको आर्थिक प्रस्तावमा सरकार नागरिक अधिकार कुण्ठितगर्दै अधिनायकवाद तर्फको यात्रामा लम्किन खोजेको आरोप लगाइएको छ । प्रस्तावमा वर्तमान सरकारको आर्थिक नीति र क्रियाकलापले सरकार कानूनी प्रकृयालाई लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको आरोप लगाइएको छ । प्रस्तावमा यस्तो हुँदा यसले लगानीकर्ताहरु असुरक्षित महसुस गरी वैदेशि लगानीमा ७५ प्रतिशत ह्रास आएको आन्तरिक लगानी बढ्न नसकेको र पूजी पलायनको संकेत देखिएको उल्लेख गरिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा मंगलवार बस्ने बैठकले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र आजै राजनीतिक प्रतिवेदन पारित गर्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिवेदनमा देशको राजनीतिक अवस्था, विगतमा कांग्रेसको भूमिका र अबको भूमिका लगायतका विषय समावेश भएको महतले लोकान्तरलाई बताए । आफै संयोजक रहेको कांग्रेसको आर्थिक प्रतिवेदन अहिलेसम्म उत्कृष्ट रहेको उनले दावी गरे । ‘सरकारले लिएको बाटोमा न समृद्ध नेपाल भेटिन्छ, न सुखी नेपाली’ महतले भने ।

अझै शुरु भएन बैठक

बिहान ११ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक दिउँसो साढे १ बजेसम्म शुरु हुन सकेको छैन । आजको केन्द्रीय समिति बैठकले २८ गतेदेखि हुने महासमिति बैठकमा पेश गरिने प्रतिवेदनहरु पारित गर्दैछ ।
केन्द्रीय समितिको बैठकपछि कांग्रेसले आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ ।