‘ए’ डिभिजन लिगको उपाधि होडमा चार क्लब, मनाङलाई टक्कर दिँदै थ्रीस्टार, संकटा र आर्मी

प्रकाशित मिति:

मङ्सिर २५ काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगको आधा भन्दा बढी खेल सकिएका छिन्। १३ चरणसम्म चल्ने लिगको ७ चरण सकिएको छ। ४९ खेल सकिदा लिगमा चार क्लबले उपाधिको दाबेदारिता प्रस्तुत गरेका छन्।

सातौं चरणसम्म शतप्रतिशत नतिजा निकालेको मनाङ मर्स्याङ्दी क्लब उपाधि होडमा सबैभन्दा बलियो देखिएको छ। २१ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको मनाङले अहिलेसम्म १३ गोल गरिसकेको छ भने ३ गोल खाएको छ। पछिल्ला ३ खेलमा ४ गोल मात्र गर्न सकेको मनाङको चिन्ता फरवार्ड लाइनमा देखिएको छ। फिनिङसिङमा पटकपटक चुकिरहेको मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि चिन्तित छन्।
मनाङलाई उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेल आठौं चरणमा हुँदैछ। आठौं चरणमा मनाङ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार एन्फा कम्प्लेक्समा हुने खेलको नतिजाले मनाङको मात्र होइन आर्मीको उपाधि यात्रा पनि तय गर्नेछ। जारी लिगमा दुवै टिम अपराजित भएकाले खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। मनाङका लागि संकटाविरुद्धको खेल पनि उपाधि यात्रामा महत्वपूर्ण हुनेछ। ६-६ जित निकालेर १८-१८ अंक जोडेका थ्रीस्टार क्लब र संकटा क्लब पनि उपाधि होडमा मनाङलाई टक्कर दिइरहेका क्लब हुन्। थ्रीस्टारले लिगमा मनाङसँग २-१ ले पराजित हुनुबाहेक सबै खेल जितेको छ।

पछिल्ला खेलमा लयमा देखिएको थ्रीस्टारका लागि अब आर्मी र संकटासँगको खेल महत्वपूर्ण छ। थ्रीस्टारको लागि अग्रपंक्तिमा सुधार गर्नु पर्नु चुनौती देखिएको छ। पछिल्ला २ खेलमा थ्रीस्टारको जितमा डिफेन्डरले गोल गरेका थिए। यस्तै कप्तान विक्रम लामा मिडफिल्डमा भन्दा पनि डिफेन्समा खटिनु थ्रीस्टारका लागि घाटाको विषय हो। संकटाका लागि भने उपाधि यात्रा सहज देखिदैन। यसअघि उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबसँग ५-१ गोलले पराजित भएको संकटाले अब मनाङ र थ्रीस्टारसँग खेल्न बाँकी छ। ‘अन्डर डग’ टिमको छवी बनाएको संकटाका विशेषगरी विदेशी खेलाडीले प्रेरणादायी प्रदर्शन गरिरहेका छन्। पछिल्लो खेलमा पनि म्याक्सवेलले फ्रेन्ड्सविरुद्ध रोमाञ्चक जित दिलाउने क्रममा दोस्रो हाफमा ४ मिनेट थपिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए। उनलाई गोल गर्न पास पनि विदेशी खेलाडी सेड्रिक अबाले दिएका थिए। अपराजित रहेको आर्मीलाई पहिलो पटक लिगको उपाधि जित्नका लागि आठौं चरणको मनाङ विरुद्धको खेल निर्णायक बन्न सक्छ। यस्तै अर्को दाबेदार थ्रीस्टारलाई हराउन सकेपनि आर्मीको उपाधिको ढोका खुल्न सक्छ। लिगमा आर्मीले ५ खेलमा जित हात पार्दा २ खेलमा बराबरीमा रोकिएको थियो। आर्मीको बलियो पक्ष ए डिभिजन लिग खेलेका अनुभवी खेलाडी हुनु हो। कप्तान भरत खवासहित टेकबाहादुर बुढाथोकी, टंक बस्नेत, गोलकिपर विकेश कुथुले टिमलाई आत्मबल बढाउने काम गरिरहेका छन्। यस्तै राष्ट्रिय टिममा परिसकेका जर्जप्रिन्स कार्की र जितेन्द्र कार्कीले आर्मीलाई बलियो बनाएको छ।
मच्छिन्द्र र एनआरटीमाथि दबाब

जारी लिगमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने क्लबको न्युरोड टिम (एनआरटी)। नेपालको पुरानो क्लब मध्येको एक एनआरटी चार पटकको च्याम्पियन पनि हो। जारी लिगमा रेलिगेशनको नियम नभएपनि पुछारका २ टिमलाई एक वर्षपछि हुने लिगमा अंक घटाउने र तयारी खर्च नदिने एन्फाले निर्णय गरेको छ। तर यो निर्णयले एनआरटीलाई छोएको देखिदैनन्। टिमले राम्रो तयारी नगरेको देखिएको छ टिममा अनुभवी खेलाडीको कमी छ। लिगका सबै खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी खेल्दा ६ खेल गुमाइसकेको छ। १ अंकसहित लिगको पुछारमा रहेको एनआरटीले अहिलेसम्म १७ गोल खाइसकेको छ भने ४ गोल गर्न सकेको छ।

मच्छिन्द्र क्लब जारी लिगमा गोल गर्न नसक्ने एक्लो टिम हो। ४ खेलमा हार बेहोरेको मच्छिन्द्रले लिगमा ३ खेलमा बराबरी खेलेको छ। बराबरी खेलेका तीनै खेलमा मच्छिन्द्रले गोलरहित खेलको थियो। ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रका लागि चुनौती भनेकै गोल गर्ने देखिएको छ।