महासमिति बैठकमा कांग्रेसले १ करोड खर्चिने

प्रकाशित मिति:

मङ्सिर २५ काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरू हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। काठमाडौंको रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा भाग लिन विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरू राजधानी आउने क्रम सुरू भइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

महासमिति बैठक सर्ने हो भन्ने पत्रकारहरूको जिज्ञासामा प्रवक्ता शर्माले मंगलबार पार्टी कार्यालयमा भने, ‘मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक बस्छ, बैठक सर्दैन।’ पार्टीको विधान टुंग्याउने काम सकिएको दाबी गरेका शर्माले राजनीतिक प्रस्ताव केन्द्रीय समितिमा छलफलको क्रममा रहेको र आर्थिक प्रस्ताव पारित भइसकेको बताए। महासमिति बैठक व्यवस्थापनमा एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको शर्माले बताएका छन्।

महासमिति बैठकमा करिब एक हजार ३ सय सहभागी हुँदैछन्। उनीहरूका लागि बिहान नास्ता र दिउँसो खानाको व्यवस्था हुने र बास र बेलुकीको खाना भने महासमिति सदस्यहरूले नै व्यवस्थापन गर्नुपर्ने कांग्रेसले जनाएको छ। ‘विधान टुंग्याएर छपाइका लागि प्रेसमा पठाउँछौं, तोकिएकै मितिमा महासमिति बैठक बस्छ,’ प्रवक्ता शर्माले भने।