महाभारतको युद्ध चल्यो १८ दिन तर कर्ण लडे जम्मा आठ दिन, कारण यस्तो !

प्रकाशित मिति:

काठमाडौं मङ्सिर २५ — महाभारतका प्रमुख पात्रमध्ये एक कर्ण हुन् । दुर्योधनले कर्णमै भर परेर पाण्डवसँग युद्ध गर्ने निर्णय लिएका थिए । अर्जुनसँग भिड्नसक्ने योद्धा कर्ण मात्र भएको दुर्योधनको विश्वास थियो । तर कौरव र पाण्डवबीच युद्ध शुरू भएको १० दिनपछि कर्ण युद्धमा संलग्न भए । अज्ञातवास सकिएपछि पाण्डवहरू वास्तविक स्वरूपमा आए । विराटनगरमा नै पाण्डवहरूको हित चाहने सबैजना भेला भए । पाण्डवहरूले आफ्नो राज्य फेरि पाउनुपर्छ भन्नेमा सबैको सहमति रह्यो । त्यसका लागि राजा द्रुपदले आफ्ना एक पुरोहितलाई दूत बनाएर राजा धृतराष्ट्रसमक्ष पठाए । पुरोहितले धृतराष्ट्रलाई सबै कुरा बताए अनि थपे, ‘पाण्डवहरूले वनवास र अज्ञातवास पूरा गरिसकेका छन् । त्यसैले उनीहरूलाई राज्य फर्काइनुपर्छ ।’

त्यसपछि धृतराष्ट्रले सञ्जयलाई दूत बनाएर पठाए । सञ्जयले युधिष्ठिरलाई भने, ‘महाराज धृतराष्ट्र युद्ध चाहनुहुन्न ।’युधिष्ठिरले भने, ‘हामी पनि शान्ति नै चाहन्छौं तर इन्द्रप्रस्थ मेरो राज्य भएमा मात्र शान्ति सम्भव छ ।’ श्रीकृष्णले कौरवहरू पाण्डवलाई पाँच गाउँ मात्र दिन तयार भएमा पनि युद्ध नहुने बताउनुभयो । त्यसपछि सञ्जय पाण्डवहरूको सन्देश लिएर हस्तिनापुर आए । सञ्जयले सभामा पाण्डवको सन्देश सुनाउँदा भीष्म, द्रोण र कृपले समर्थन गरे तर कर्ण र दुर्योधनले असहमति जनाए ।

धृतराष्ट्रले दुर्योधनलाई सम्झाइबुझाइ गर्दा कर्णले सभामा ठूलाठूला कुरा गर्न थाले । कर्णको कुरा सुनेर भीष्म पितामहले उनलाई हकारे । भीष्मको कुरा सुनेर कर्णलाई क्रोध आयो । उनले भने, ‘म युद्धमा जान्नँ । तपाईंको अन्त्य भएपछि
म पाण्डवहरूको नाश गरिदिन्छु ।’ अनि कर्ण सभाबाट बाहिरिए । त्यसैले गर्दा भीष्म कौरवहरूको सेनापति रहुन्जेल कर्णले कौरवका तर्फबाट युद्ध गरेनन् । भीष्म घाइते भएपछि मात्र कर्ण युद्धभूमिमा आए ।