प्रदेश ५ मा प्रदेशसभा वैठक बस्दै

प्रकाशित मिति:

२५ मंसिर, बुटवल । प्रदेश ५ को प्रदेश सभा वैठक चार महिनापछि बस्दैछ । गत साउन २४ गते प्रदेशसभाको वजेट अधिवेशन अन्त्य भएको थियो । बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा वैठकमा अघिल्लो अधिवेशनमा पेश भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकसम्बन्धी पत्रहरुबारे जानकारी गराइने छ ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गर्न चार वटा विधेयक दर्ता गराइसकेको छ । तीमध्ये दुईवटा विधेयक सम्बन्धित मन्त्रालयका तर्फबाट मन्त्रीहरुले पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले मंगलबार सार्वजनिक गरेको छ ।

बुधबार बस्ने वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको प्रदेश ५ जाँचबुझ आयोग गठन,काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास मन्त्रालयले प्रदेश नं. ५ संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रीहरुले पेश गर्नेछन् । वैठकमा सभामुखले विषेश अधिकार समितिको सभापति र प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको संयोजक चयनबारे संसदलाई जानकारी गराउने छन् । यस्तै प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको जानकारी पनि सभामुखले गराउने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सिफारिस गर्न गठित समितिले तीन महिनासम्म संयोजक तोक्न र कार्यविधिसमेत बनाउन सकेको थिएन । तीन महिना समय बितेपछि बसेको समितिको वैठकले रोल्पाका सांसद दिपेन्द्र पुनलाई संयोजक तोकेको थियो ।

यो अधिवेशनलाई सरकारले विधेयक अधिवेशन भन्दै आएको छ । प्रदेश सरकारले संसदमा पेश गर्न १४ वटा विधेयक र कार्यविधि मन्त्रिपरिषदबाट पारित गरिसकेको छ भने एक दर्जन विधेयकको मस्यौदा पनि अन्तिम चरणमा रहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । बुधबारदेखि शुरु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने प्रवक्ता चौधरीले बताए ।