फेसबुक ग्रुप एमआरआरले अस्ट्रेलियाबाट भन्यो– नो वन किल्ड निर्मला !

प्रकाशित मिति:

सिड्नी । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेको नेपाली युवाहरूको एउटा ग्रुप मेन्स रुम रिलोडेडले निर्मला पन्तको हत्याराको खोजी हुनुपर्ने माग राखेको छ ।

सातौं बार्षिकोत्सव अस्ट्रेलियाको सिड्नीमा मनाएको उक्त समूहले ‘जस्टिस डिले इज, जस्टिस डिनाइड’ लेखिएको निर्मलाको तस्बिर नेपालका चोक चोकमा राखिएको पनि खुलाएको छ । जुन पोस्टरलाई प्रहरीले च्यातेको थियो ।

सामाजिक सुरक्षा कार्यक्रम घोषणाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखी नयाँ युगको सुरुआत लेखिएका डिस्प्ले बोर्ड राखेपछि न्यायको खोजी गरिरहेका निर्मला पन्तका परिवारका लागि एमआरआरले उक्त पोस्टर तयार पारेको थियो ।

स्वतस्फूर्त रूपमा उक्त पोस्टर चोकदेखि सामाजिक सञ्जालसम्म अभियान नै बनेपछि संसदको दिगो विकास समितिले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँग निर्मला पन्त प्रकरणबारे बुझेको थियो ।

सातौं बार्षिकोत्सवका अवसरमा अस्ट्रेलियामा रहेका एमआरआर सदस्य युवाहरूले नो वन किल्ड निर्मला भन्ने पोस्टरसहित न्यायको खोजी गरेको छ । युवाहरूले न्याय दिन सरकार चुकिरहेको पनि बताए । निर्मलाले न्याय नपाएसम्म सामाजिक सञ्जालदेखि अनेक ठाउँमा अभियान जारी राखिने बताइएको थियो ।

कार्यक्रम न्यायमा केन्द्रित रहेको सिड्नीमा सहभागी युवा गायक तथा स्वतन्त्र अभियानकर्मी श्यामराज दाहालले जानकारी दिए ।  कार्यक्रममा अस्ट्रेलियामा रोजगारी खोज्न पुगेका नेपालका विश्व साइकलयात्री पुष्कर शाहलगायतले बोलेका थिए ।