नेपाल-चीनबीच परम्‍परादेखिनै नजिकको सम्‍बन्ध : शिक्षा मन्‍त्री पौडेल

प्रकाशित मिति:

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल(चीनबीच नजिकको सम्‍बन्ध रहेको बताएका छन् । काठमाडौं कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पाण्डा बुक कर्नर हस्तान्तरण समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल(चीनबीच शरीर र कलेजोजस्तै भएको बताए । नेपाल र चीनबीच परम्परादेखि कायम रहँदै आएको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको बताए ।

नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा दिएको सहयोग र समर्थनको लागि उनले धन्यवाद व्यक्त गरे। दुईदेशबीचको सहयोग र सहकार्यको माध्यमबाट यस भूगोलमा बस्ने मानवजातीको रक्षाको निम्ति दुई देशको सुमधुर सम्बन्धले २१औं शताब्दीका नेपाल, चीन र विश्वभरीका मानिसहरूका चुनौतीहरू समाधान गर्न सँगसँगैअगाडि बढ्न चाहेको पनि मन्त्री पौडेलले प्रस्ट पारे । साथै उनले नेपाल र चीनबीच शिक्षा क्षेत्रमा देखा परेका कतिपय समस्याहरूलाई संयुक्तरूपमा हल गरेर अघि बढ्ने पनि बताए ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले सो समारोहलाई सम्बोधन गर्दै चीन र नेपालबीचको साँस्कृतिक आदान प्रदान र नेपाली विद्यार्थीहरूको शैक्षिक विकासको लागि चिनियाँ दूतावासले उच्च महत्व दिएको बताइन् । २०७२ सालको महाभूकम्पले ध्वत भएका कतिपय विद्यालयहरूको पुननिर्माणमा चीन सरकारले सहयोग गरेको र अहिले विद्यार्थीहरू उत्साही भएर विद्यालय गएको देख्दा आफूलाई अत्यन्त खुसी लागेको राजदूत हौ यान्छीले बताइन् । साथै राजदूत हौ यान्छीले पाण्डा बुक कर्नर चिनियाँ राजदूतावासबाट स्थापित नेपालका विद्यार्थीहरूको शैक्षिक विकासको लागि स्थापना भएको महत्वपूर्ण क्षेत्र बनेको पनि बताइन्। पाण्डा बुक कर्नर देशका पाँच विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।