रुपन्देही क्षेत्र नम्बर ३ मा देउवा समूहका गुरुङ विजयी

प्रकाशित मिति:

नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सुशील गुरुङको प्यानल विजयी भएको छ । गुरुङ बिहीबार ३ सय ७७ मत ल्याई विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत प्राप्त गरेका थिए । यस्तै सभापति पदका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गरेका छन् । सभापति पदमा गुरुङको प्यानल विजयी भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

सचिव पदमा गुरुङकै प्यानल विजयी भएको छ । सचिव पदमा भवानीप्रसाद शर्माले ३ सय ७६, लेखनाथ भट्टराईले ३ सय ६२ तथा यादव प्यानलका शैलेषकुमार पन्तले २ सय १८ र टंकप्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा पनि गुरुङ प्यानलकै कुलप्रसाद न्यौपाने ३ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै प्रेमसागर थारुले ३ सय ८२ मत ल्याउँदा यादव प्यानलका अमृता लम्सालले २ सय २५ तथा सुरेन्द्र धवलले २ सय १० मत प्राप्त गरेका छन् ।