संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको बहुमतको सरकार : नेता निधि

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुनुपर्ने बताएका छन् ।पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका उनले आज आफ्नो ‘प्रतिबद्धता र योजना’ सार्वजनिक गर्न यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । कांग्रेसलाई देशको एकमात्र सुसङ्गठित, सुव्यवस्थित र सक्षम पार्टी बनाउने र तीनै तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने आफ्नो योजना गरेको उनले उल्लेख गरे ।

कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने योजना सुनाउँदै नेता निधिले भने, “नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय सहभागी गराउने मेरो परिकल्पना छ ।”पार्टीभित्रका गुटउपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबैलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्य उन्मुख गराउने, युवालाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णयानुसार कार्यान्वयन गराउनेलगायतका आफ्ना प्रतिबद्धता र योजनाका बारेमा उनले जानकारी गराए ।कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहो¥याउने बताइसकेका छन् ।

यसबाहेक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याण गुरुङ पनि सभापतिका आकांक्षीका रूपमा देखिएका छन् ।